‘बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले सहयोग गर्ने’

1.39K
shares

काठमान्डौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाएका छन् ।

नेपाल बाल सङ्गठन नक्साल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले बाल सङ्गठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

उनले सङ्गठनका विभिन्न जिल्लामा भएका संरचना उपयोगमा ल्याई अगाडि बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएकाले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि सङ्गठनले सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

प्रदेशस्थित सङ्गठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास मन्त्रालयलाई उहाँले निर्देशन दिए।

मुख्यमन्त्री कार्कीले प्रतिवेदनका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल सङ्गठनलाई अगाडि बढाउन सकिने धारणा राखे।

नेपाल बाल सङ्गठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनको नाममा रहेको झापाको सरणामतीस्थित जग्गामा बालग्राम निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

सङ्गठनका मोरङका अध्यक्ष नवीन पहाडी र उदयपुर अध्यक्ष भुवन दाहालले असाहय बालबालिकाको उचित शिक्षा दिनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

एक दिने भेलामा प्रदेशका १३ जिल्ला सङ्गठनका अध्यक्ष, सचिव, बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ ।