प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा
वि.सं.२०८२ भदौ १ आइतवार १८:५०
shares
प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुहुँदै । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमालले सो जानकारी दिए ।
भेटका अवसरमा दुुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।











