तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र
वि.सं.२०८२ भदौ ५ बिहीवार १९:२१
1.52K
shares
shares

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन् ।
कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार सडक बन्द भएपछि तातोपानी क्षेत्र चिनियाँ भूभागमा कन्टेनर अलपत्र परेको बताए । उनले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएको उल्लेख गरे ।
हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए । उनी भन्छन्, “दसैँ र तिहारलाई लक्षित गरी आयात गरेको सामान ल्याइएको हो, तातोपानी नाकामा ३० मिटर जतिमा पहिरोका कारण समस्या आएको हो ।”












