ऋषिकेशपत्नी अञ्जला जेल बस्न नपर्ने, उच्चअदालतले पनि धरौटीमा छाड्यो

2.2K
shares

विराटनगर । उमा गौरी कृषि सहकारीमा रकम हिनामिना प्रकरणमा मोरङ जिल्ला अदालतले दिएको फैसला उल्टाउँदै उच्च अदालतले ४ जनालाई जनही १ करोड रुपैयाँ धरौटीको आदेश दिएको छ ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती कोइरालासहित रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटासँग एक एक करोड रुपैयाँ धरौटी माग गरेको हो । यस अघि मोरङ जिल्ला अदालतले कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार धराटीको आदेश सुनाएको हो ।

यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छोडेको थियो ।

जिल्लाको सोही आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
उमा गौरी सहकारीमा २२ करोडभन्दा बढी रकम हिना मिना भएको छ । सो प्रकरणमा सञ्चालक समिति सदस्य रहेकी कोइराला सहित चार प्रतिवादीलाई १ करोड धरौटी माग गर्ने आदेश उच्च अदालत विराटनगरले दिएको हो ।

मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित उमा गौरी सहकारी संस्थाका ८ हजार ८४२ शेयर सदस्यको करोडौँ रुपैयाँ हिनामिना भएको थियो । छानबिनका क्रममा सहकारीको कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मङ्सिरमा अन्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।