नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

1.87K
shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन् ।

हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको वार्षिक प्रगति समीक्षामा उनले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिए । पार्सल सेवालाई भरपर्दो बनाउन जरुरी भएको उनले बताए ।

मन्त्री गुरुङले सबै पालिकालाई ‘डिजिटलाइजेसन’ गर्न र ‘स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन दिँदै उनले भने, “अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरी समयअनुसार रुपान्तरण हुनुपर्छ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन विभागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण एवं आवश्यकता अनुसार अन्य सहयोग गर्न आफू सधैँ सकारात्मक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाकको विगतको गौरवपूर्ण गाथालाई आत्मसात् गर्दै हुलाकलाई युगानुकूल बनाउन ऐन, कानुन परिमार्जन थालिएको बताए । हुलाकका प्रशासनिक एवं व्यवस्थापकीय व्यवधान हटाउन आफू सदैव तत्पर रहेको उहाँले बताए ।

विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक सेवालाई स्मार्ट बनाउन आफू लागिपरेको बताए ।

त्यस अवसरमा विभागका निर्देशक धव्रराज आचार्यले विभागको गतिविधिबारे जानकारी दिएका थिए ।