पूर्वसांसदका योगदान अतुलनीय : सभामुख घिमिरे

1.43K
shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्थापना, संविधान निर्माण र संसद्को दीर्घकालीन यात्रामा पूर्वसांसदका योगदान अतुलनीय रहेको बताएका छन् ।

आज सङ्घीय संसद् भवनमा आयोजित ‘पूर्वसांसद मञ्च, नेपाल’को २६औँ स्थापना दिवस समारोह तथा ज्येष्ठ पूर्वसांसद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशको राजनीतिक रूपान्तरणमा पूर्वसांसदहरूको भूमिका रहेको स्मरण गरे ।

उनले भने, “पूर्वसांसदज्यूहरू हाम्रो राष्ट्रिय जीवनको अभिन्न हिस्सा हुनुहुन्छ । उहाँहरूको योगदान मूल्याङ्कनभन्दा परको विषय हो । यस्ता योगदानका बाबजुद उहाँहरूले आधारभूत स्वास्थ्य सुविधा पाउन नसकेको अवस्था दुःखद् छ । त्यसैले हामी अब उहाँहरूको स्वास्थ्योपचारलाई सहज र निःशुल्क बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय पहलमा जुटिरहेका छौँ ।”

सभामुख घिमिरेले पूर्वसांसदप्रति सम्मान प्रकट गर्दै, राज्यले उनीहरूको स्वास्थ्य र कल्याणप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालेसमेत पूर्वसांसदहरूप्रति सम्मान व्यक्त गर्दै, उनीहरूको स्वास्थ्य, आवास र सामाजिक सुरक्षाको सवालमा राज्यले स्पष्ट नीति ल्याउन जरुरी रहेको बताए । उनले भले, “भोलि हामी पनि पूर्वसांसद हुनेछौँ । आज जुन समस्या पूर्वसांसदहरू भोगिरहनुभएको छ, त्यो भविष्यमा हामीमाथि पनि आउन सक्छ । त्यसैले, समयमै यी विषयमा व्यवस्थापन गर्न जरुरी छ ।” उपसभामुख रानाले पूर्वसांसदहरूको जीवनयापनलाई सहज बनाउने सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

त्यसैगरी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले देशको राजनीतिक सङ्क्रमण, लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा संसद्को संस्थागत विकासमा पूर्वसांसदहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै, अब उनीहरूलाई राज्यद्वारा औपचारिक रुपमा संरक्षण गर्ने समय आएको धारणा राखे ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ, उपाध्यक्ष गोविन्दबहादुर शाह, घनेन्द्र बस्नेतलगायतले आज गरिएको पूर्वसांसदको सम्मान, देशको राजनीतिप्रतिको सम्मान भएको धारणा राखेका थिए ।

उनीहरुले सभामुख घिमिरे र उपसभामुख रानालाई धन्यवाद दिँदै, यो पहललाई नीति निर्माणसम्म पु(याउन आग्रह गरेका थिए ।

पूर्वसांसदहरूको संस्थागत सङ्गठनका रूपमा क्रियाशील ‘पूर्वसांसद मञ्च, नेपाल’ले विगत २६ वर्षदेखि पूर्वसांसदहरूका हकअधिकारका लागि आवाज उठाउँदै आएको छ ।