जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत
वि.सं.२०८२ भदौ २८ शनिवार १०:३८
shares

वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका छन् । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए ।
बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिएको थियो । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।
विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा रहँदै आइरहेका थिए । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उनको परिवारले जनाएको छ ।
उनको मृत्युसँगै अहिले उनकी आमा नजला खातुन र उनकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा रहेका छन् । आफ्नो छोराको मृत्युले विछिप्त हुनुभएकी आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताए ।
“मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भनिन्, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।”
आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आइरहेकी छन् । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उनले स्तब्ध हुँदै भनिन् ।
मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उनको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी दिए ।
“असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उनले भने, “शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उहाँको शव ल्याउँदै हुनुहुन्छ ।” छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताए ।
असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताए ।
वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताए ।













