प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटमाथिको प्रारम्भिक बहस सकियो

325
shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटमाथिको प्रारम्भिक बहस सकिएको छ । बुधबार सर्वोच्च अदालतमा रिटमाथिको बहस भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध र अन्य मागसमेत रहेका १६ रिट सर्वोच्चमा दर्ता भएका थिए ।

अन्तरिम आदेश जारी हुने वा कारण देखाउ आदेश जारी हुने निर्णय केहीबेरमा संवैधानिक इजलासले दिनेछ ।

रिटमा प्रधानमन्त्रीको नियुक्ति नै असंवैधानिक रहेको त्यसपछिका सबै काम बदर हुनुपर्ने दाबी गरिएको छ । संविधानको धारा ६१ सरकार गठनका लागि नभएको र राष्ट्रपति संवैधानिक व्यक्ति भएकाले उनलाई विशेष अवस्था भन्दै मनोमानी निर्णयको अधिकार संविधानले नदिने रिटकर्ताको दाबी छ ।

अधिवक्ताहरू डा. प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेल, खडकबहादुर शाह, दलबहादुर धामी, प्रकाश भुजेल, विपीन ढकाल, आभाष पोखरेल, विमल पोखरेल, डा. पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकायाले छुट्टाछुट्टै रिट दायर गरेका छन् । त्यसबाहेक कानुनका विद्यार्थी आयुष बडाल, अभियन्ता मकबुल मियाँ, डम्बरप्रसाद शिवाकोटी, आयुष भण्डारीले पनि छुट्टाछुट्टै रिट दायर गरेका छन् ।