किन उमेदवारी दिनुभयो भन्ने प्रश्नमा महावीर पुनको जवाफ- रिस उठेर !

546
shares
पोखरा । मंगलबार एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले उमेदवारी दर्ता गराए । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले स्वतन्त्र उमेदवारी दिएका हुन् । म्याग्दीको अन्नपूर्ण- ८ नागी राम्चेमा जन्मिएका पुनले मंगलबार नै शिक्षा, विज्ञान तथा प्रविधीमन्त्रीबाट राजीनामा दिएका थिए ।

मनोनयन दर्ताकै क्रममा उनलाई शुभकामना दिन पुगेका थिए- गण्डकीका प्रदेशसभा सदस्य रेशम जुग्जाली । जुग्जालीले पुनको उमेदवारीले सबै खुसी भएको बताए । त्यसको जवाफमा पुनले भने, “खुसी भएका छन् भने कसैले पनि उमेदवारी दर्ता नगर्नु न त ।”

आफ्नै शैलीमा प्रस्तु भएका पुनले चुनाव खर्च नछुट्याएको बताए । बरु अरुले आफ्नो नाममा खर्च गरिदिन आग्रह गरे । त्यसको विवरण चाहिँ आफूलाई दिन भने ।

“चुनाव खर्च छुट्याएकै छैन । जो जसले खर्च गर्न चाहनुहुन्छ, आफैँले खर्च गरेर महावीर पुनको नाममा बिल भर्पाई मलाई बुझाउनू । चुनावमा यति खर्च भयो भनेर विवरण त बुझाउनुपर्छ नि,” पुनले भने, “मैले यति खर्च गरेँ भनेर बिल भौचर के लिइराख्नु विवरण दिनु, त्यो विवरण आएपछि सबै जम्मा गरेर यति खर्च भएछ भनेर विवरण आयोगमा बुझाउँछु ।”

बिहान १० बजेतिर म्याग्दी पुगेका पुनले गाडीभरि आफ्नो आत्मकथा पनि बोकेर गएका छन् । मनोनयनकै क्रममा उनले आफ्नो पुस्तक किन्नु भन्न छुटाएनन् ।

उनले आफ्नो पुस्तक चाहनेलाई खरिद पनि गर्न आग्रह गरे । तर, यो चुनाव खर्चको लागि भने प्रयोग नहुने बताए । “चुनाव खर्चको लागि बेच्ने होइन, वीरगञ्ज कृषि औजार कारखानाकै लागि खर्च हुन्छ,” पुनले भने ।

मनोयनका क्रममा सञ्चारकर्मीसँग भएको उनको सवालजवाफ :

किन उमेदवारी दिनुभयो त ?
– रिस उठेर ।

को सँग रिस उठ्यो त ?
– सबै नेपाली, नेपालदेखि बुढा नेताहरूदेखि, नेपालीको ढिलासुस्ती, कुशासनसँग रिस उठेर ।

रिस उठेका जति, नयाँजति एकैठाउँ भएका छन् नि !
– कहाँ एकतिर हुनु, १० तिर भएर पो उठ्या त ।

तपाईंलाई कुनै प्रस्ताव आएन ?
– आए नि कसले स्वीकार गर्छ ? मलाई प्रस्ताव गर्ने आँट हुनुपर्‍यो नि ।