उम्मेदवारी फिर्ता लिन बाबुरामलाई रास्वपाको आग्रह, प्रचण्डको फोन

1.01K
shares

काठमाडौं । आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ ।

रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यसअघिको निर्वाचनमा पनि सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ पराजित भएका थिए ।

यसपटक प्रचण्डले भने निर्वाचन क्षेत्र फेरेका छन् । यसैबीच रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

‘फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं,’ वाग्लेले भनेका छन् ।

स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

‘पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ वाग्लेले भनेका छन्, ‘फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ ।’