क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्ने सहमति

988
shares

रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमति पछि यातायात सेवा संचालन भएको छ ।

बुधबार अबेरसम्म स्थानीय प्रशासन, अरनिको यातायातका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्ष‍तिपूर्ति अरनिको यातायातले तत्काल व्यवस्थापन गर्ने र दुर्घटापछि बेत्तपा भएका यात्रुका परिवारलाई पनि मृतक सरह मानेर क्षतिपूर्ति दिने उल्लेख छ ।

सहमति अनुसार सवारी दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले व्यवस्था गर्ने,  दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरुलाई कानून बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्षलगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुसहित नेपाल अरनिको यातायात सेवा प्रा.लि.सँग वार्ता हुनेछ ।

यस्तै, अस्पतालमा रहेका मृतकहरुको शव परीक्षण गरी दाहासंस्कारका लागि सम्बन्धित आफन्त तथा परिवारहरुको सहमति र सहजीकरणमा शव हस्तान्तरण गर्ने, सवारी दुर्घटनाका सवारी चालकलाई प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरुको खोजी कार्य जारी राख्ने र हराइरहेका यात्रुहरुको सम्बन्धमा मृतकसरह मानी नियमानुसार क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराउने सहमति पनि भएको छ ।