रास्वपाकी बिना : परम्परागत अनुमान फेल गराउँदै संसदको यात्रा
वि.सं.२०८२ फागुन २६ मंगलवार ११:२३
shares

देशमा जेनजी आन्दोलन नभएको भए राजनीतिमा लाग्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिरे पनि सांसद नै हुने अवसर सामुन्ने आउँछ भन्ने बिना गुरुङलाई लागेको थिएन । देशमा सुशासन र पार्टी रुपान्तरणको एजेण्डा राख्दै देशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले बिनालाई पनि सांसद भएर देशमा काम गर्ने अवसरको ढोका खोलिदियो ।
देशमा भ्रष्टाचार र बेथिति भएको जेनजी पुस्ताको आवाजमा रास्वपाको जन्मसँगै बिनाले राजनीतिमै होमिने निश्कर्ष निकालिन् र जेनजी आन्दोलनले सिर्जना गरेको फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार हुने निश्कर्षमा पुगिन् ।
सामाजिक संघ, संस्थाबाहेक सरकारी लाभको पदमा प्रतिस्पर्धा नगरेकी बिनाले संसदीय चुनावमा लड्ने योजना बनाउँदै नेतृत्वसँग टिकट दाबी गरिन् । गण्डकीमा महिला र त्यसमा पनि जनजाती समुदायबाट बिना अब्बल उम्मेदवारको रुपमा रास्वपाले बिनालाई टिकट दियो ।
जेनजी पुस्ताको आन्दोलनको माग र नयाँ परिवर्तनको आशासहित देशमा सुशासन, विकास र नीति निर्माणको तहमा काम गर्न यिनै बिनालाई कास्की क्षेत्र नम्बर ३ का मतदाताले संसदमा पठाउन लोकप्रिय मत दिएका छन् ।
पुराना दलहरुको विकल्पमा खडा भएकी बिनालाई २४ हजार ९७० मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ का मतदाताले जिताएका छन् ।
बिना ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । यहाँ ६५ हजार ४ सय ७ मत खसेको थियो ।
यसअघि चुनाव जितेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ७ हजार ९०६ मत ल्याए ।
२०६२/०६३ को जनआन्दोलनपछि भएको पहिलो संविधान सभाको चुनावमा जिताएको माओवादीसहित मिलेर बनेको नेकपाका उम्मेदवार गोपाल गिरीले जम्मा १ हजार ४५६ मत पाएका छन् ।
संघीय व्यवस्थाको विरोध र देशमा सनातन धर्मसहितको राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनाललाई कास्की–३ ले १ हजार ४०६ मत दिएको छ ।













