संयोजक रक्षा बममाथि दुर्व्यवहारको जेनजी फ्रन्टले गर्यो भर्त्सना
वि.सं.२०८२ चैत ६ शुक्रवार १३:५४
shares

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको फ्रन्टले कडा निन्दा गरेको छ।
फ्रन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चैत ५ गते संयोजक बममाथि भएको घटनाको घोर भर्त्सना गरेको हो। शान्तिपूर्वक भेला हुने र विचार राख्ने संवैधानिक अधिकारको प्रयोग गरिरहेकी आन्दोलनकारीमाथिको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा सह्य नहुने फ्रन्टले स्पष्ट पारेको छ।
विज्ञप्तिमा सहिद परिवार र घाइतेहरूका आफन्तको पीडा, आक्रोश र प्रश्नहरूलाई आफूहरूले सधैँ सम्मान गर्ने उल्लेख गरिएको छ। तर, आन्दोलनकारीहरूबीच आपसमा हुने यस्ता आक्रमणले आन्दोलनलाई नै कमजोर बनाउने भन्दै फ्रन्टले सचेत गराएको छ।
‘यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’











