सेयर बजारमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

13
shares

काठमाडौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से सूचक २.९५ अङ्कले घटेर २८०४.१७ को विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । दिनभरिमा ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढेको छ भने सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको मूल्यमा समान १४.९९ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन् । आज होटल फरेस्ट इनको मूल्यमा सबैभन्दा धेरै १०.७५ प्रतिशतको गिरावट देखिएको छ ।

समूहगत आधारमा होटल तथा टुरिजम समूहमा सबैभन्दा धेरै २.३६ प्रतिशत तथा ट्रेडिङ समूहमा १.१० प्रतिशत गिरावट देखिएको छ । अन्य कुनै पनि समूहमा एक प्रतिशत भन्दा धेरैको उतारचढाव देखिएन ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । यस कम्पनीको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स ३२ करोड ७८ लाख र सोलु हाइड्रोपावर ३१ करोड ६९ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

आज कुल ३४२ कम्पनीको कारोबार भएकोमा १२१ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।