२७०२ को विन्दुमा सेयर बजार, सूचक र कारोबार दुवैमा सामान्य वृद्धि
वि.सं.२०८३ असार ५ शुक्रवार १६:०७
shares

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक १.६३ अङ्कले बढेर २७०२.११ विन्दुमा पुगेर बन्द भएको छ।
बजारमा आज कुल ३५३ वटा कम्पनीका १ करोड ९ लाख कित्ता सेयर ६१ हजार १७० पटक किनबेच हुँदा कुल ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा उतारचढावका बिच अन्ततः हरियाली छाएको छ। दिनभरको कारोबारमा ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आजको कारोबारमा एपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशत नाफा कमाएका छन् भने सोपान फर्मास्युटिकल्सको मूल्य पनि १४.०२ प्रतिशतले बढेको छ। त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा रहेको छ, जसको ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सोही बैकको अर्को ऋणपत्रको ३२ करोड ७६ लाख र सोपानको २० करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।













