काठमाडौं । दर्शकको साथ पाइरहेको नाटक ‘सेतो धरती’ ले आफ्नो मञ्चन यात्राको ५१ औँ दिन पूरा गरेको छ । नाट्य संस्था कान्तिपुर थिएटरले नाटकको मञ्चन अवधि १६ साउनसम्म थपेको छ ।
अमर न्यौपानेको मदन पुरस्कार विजेता पुस्तकमाथि आधारित नाटकको अधिकांश शो खचाखच रहेको कान्तिपुर थिएटरका कार्यकारी अधिकृत प्रकाश पुरीले बताए ।
यसैसाता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सविना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्री हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल, सांसदहरू गणेश कार्की र अनुष्का श्रेष्ठ लगायतले नाटक हेरिसकेका छन् ।

अधिकांश दर्शकले नाटकको कथा, प्रस्तुति तथा कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन् । गैरीधारास्थित थिएटरमा मञ्चन भैरहेको नाटकलाई सुन्दर धितालले निर्देशन गरेका हुन् ।
साउन १६ गतेसम्म बुधबार बाहेक हरेक दिन साँझ ४ः१५ बजे र ७ः१५ बजे, तथा बिदाका दिन अतिरिक्त दिउँसो १ः१५ बजे मञ्चन हुनेछ । समयतालिका तथा अनलाइन टिकट बुकिङ सम्बन्धी जानकारी कान्तिपुर थिएटरको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
‘सेतो धरती’ नेपाली समाजमा विद्यमान बालविवाह, बालविधवा तथा महिलाको अस्तित्वसँग सम्बन्धित गहिरा सामाजिक विषयवस्तुलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने नाटकका रूपमा दर्शकमाझ विशेष लोकप्रिय छ ।


















