सुनसरी-मोरङमा आज पनि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

39
shares

१२ साउन, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँठाउँमा अवरोध छ ।

चोकहरूमा मानिस भेला भएर प्रदर्शन गरिरहेको उनले बताए । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ ।

देवानगञ्जको अवस्था भने सामान्य बन्दै गएको छ ।

आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भयो । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु मंगलबार पनि यथावत् छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ ।

हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु छ ।

भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु कायम छ ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी छ ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु छ ।

देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्म कर्फ्यु कायम राखिएको प्रशासनले जनाएको छ ।

कर्फ्यु जारी भएको क्षेत्रमा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्थामा प्रतिकूल असर पुग्ने कुनै पनि भेला, जुलुस, प्रदर्शन वा अन्य गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।