कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले सम्हाले पदभार, गरे तीन निर्णय

39
shares

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् । उनले प्रदेश सरकारको सेवा प्रवाह, विकास आयोजना अनुगमन तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तीन निर्णय गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विकास आयोजनाहरूको प्रगति विवरण सहज रूपमा हेर्न सकिने गरी आयोजनाको ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन् । उक्त प्रणालीमार्फत आयोजना कार्यान्वयनको अवस्था नियमित रूपमा अनुगमन गर्न र विकास निर्माणलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ ।

त्यसैगरी, शासकीय सुधारका लागि नयाँ तथा नवप्रवर्तनीय औजारको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार ल्याउने सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ । यसबाट प्रदेश सरकारको प्रशासनिक कार्यसम्पादनलाई थप उत्तरदायी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य लिइएको छ ।

मुख्यमन्त्री शाहीले सबै प्रकारका विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । यसका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका विपद् प्रतिकार्यका संयन्त्रलाई सुदृढ बनाउने निर्णय गरिएको छ ।