सप्तरीका राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु
देवानगञ्ज घटनाको प्रभावपछि प्रशासनको कडा कदम, सेना परिचालन
वि.सं.२०८३ साउन १५ शुक्रवार ०८:४३
shares

सप्तरी, साउन १५ — सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सप्तरीका राजविराज र बोदेबरसाईन क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा कर्फ्यु लागू गरिएको थियो भने शुक्रबार बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
यी क्षेत्रमा लागू भयो कर्फ्यु
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार राजविराजमा कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक तथा दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र समेटिएको छ।
सेना र सुरक्षा निकाय उच्च सतर्कतामा
कर्फ्यु प्रभावकारी रूपमा कार्यान्वयन गर्न बोदेबरसाईन क्षेत्रमा नेपाली सेना परिचालन गरी गस्ती बढाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
देवानगञ्ज घटनाको प्रभाव मधेशभर
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपमा दुई जनाको मृत्यु भएपछि त्यसको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन सुरु भएको थियो। त्यसैको प्रभावस्वरूप सम्भावित अप्रिय घटना रोक्न सप्तरी प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ।
यसअघि देवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवाका परिवार र सरकारबीच सात बुँदे सहमति भएको भए पनि घटनापछि विभिन्न स्थानमा देखिएको तनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप कडा पारिएको हो।
प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।













