सेयर बजारमा २१ अङ्कको गिरावट, अधिकांश कम्पनीको सेयर मूल्य ओरालो

91
shares

काठमाडौँ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज बजार खुलेसँगै उतारचढावकाबिच ओरालो लागेको नेप्से परिसूचक अन्ततः अघिल्लो कारोबार दिनको तुलनामा २१.१५ अङ्कले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको हो।

बजारको सुरुवातदेखि नै बिक्री चाप बढी हुँदा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। आज कुल ३४३ वटा कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक किनबेच भएका छन्, जसबाट कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुल सूचीकृत कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ भने केवल ५९ वटा कम्पनीको मात्र मूल्य बढ्न सफल भएको छ। ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

यस्तो अवस्थामा पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो मुनाफा कमाएका छन्। जसमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा १५ प्रतिशतको उच्च वृद्धि भई प्रतिसेयर १७३१.४० रुपैयाँ पुगेको छ। त्यस्तै खानीखोला हाइड्रोको मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले बढेको छ।

अर्कोतर्फ, बढी कारोबार हुने कम्पनीहरूको सूचीमा खानीखोला अग्रस्थानमा रहेको छ, जसको ४० करोड ६६ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ। यसका साथै सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाइड्रपावरको १६ करोड ५७ लाख र सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको देखिन्छ।

आजको बजार गिरावटसँगै समग्र बजार पूँजीकरणमा पनि ह्रास आएको छ। कारोबार बन्द हुँदा कुल बजार पूँजीकरण ४५ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ ।