न्यायाधीश नियुक्ति लगायतका विषयमा निर्णय लिन न्याय परिषद् बैठक बस्दै
वि.सं.२०८३ भदौ ४ बिहीवार १४:३६
shares

काठमाडौँ । सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीश नियुक्ति लगायत अन्य विविध विषयमा निर्णय लिनका लागि न्याय परिषद् बैठक बस्ने तयारी गरेको छ । न्याय परिषद् स्रोतका अनुसार आजै न्याय परिषद् बैठक बसेर न्यायाधीश नियुक्ति लगायतका विषयमा बैठक बस्न लागेको हो ।
न्याय परिषद् बैठकबाट सर्वसम्मत निर्णय हुन सके न्यायाधीश नियुक्तिको विषयमा निर्णय हुनेछ । न्यायाधीश नियुक्तिको विषयमा टुङ्गो नलागे अन्य विविध विषयमा छलफल हुनेछ । सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने निकाय परिषद्मा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतमका साथै महेशकुमार नेपाल (प्रधानमन्त्रीको सिफारिसमा नियुक्त) र दामोदर खड्का (नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त) सदस्य छन् ।
न्याय परिषद्को बैठक अध्यक्षको हैसियतमा प्रधानन्यायाधीशले बोलाउने अभ्यास छ । चिया ब्रेकपछि आजै न्याय परिषद्को बैठक बस्ने तयारी भइरहेको न्याय परिषदका एक अधिकारीले बताए । यो पटक न्यायाधीश सिफारिसमा पहिलो प्राथमिकतामा करिअर जर्ज बाट सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको तयारी छ ।
सर्वोच्चमा रिक्त चार न्यायाधीशका लागि नौ जनाको नाम चर्चामा छ । जसमा उच्च अदालतका मुख्य न्यायाधीशबाट लालबहादुर कुँवर, राजनप्रसाद भट्टराई, रत्नबहादुर वागचन्द, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी छन् । त्यस्तै उच्च अदालतका न्यायाधीशहरूबाट दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, टेकनारायण कुँवर र चन्द्रबहादुर सारू चर्चामा छन् ।
उनीहरूमध्ये यादव दिपायल र कुँवर उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश छन् । कृष्णलाल भट्टराई धनकुटा उच्च अदालतमा कार्यरत छन् । यमुना भट्टराई उच्च अदालत बागलुङ इजलास र सारू उच्च अदालत पाटनमा कार्यरत छन् । हाल उच्च अदालतमा पनि दुई मुख्य न्यायाधीश तथा पाँच न्यायाधीशको पद रिक्त छ । ‘करिअर जज’ बाट सर्वोच्च अदालत हुँदै न्यायाधीश नियुक्ति गर्दा उच्च अदालतमा थप पद रिक्त हुनेछ ।
उच्च अदालतमा सिफारिसका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार भद्रकाली पोखरेल, गजेन्द्रबहादुर सिंह, ठगेन्द्र कटेल र बाबुराम दाहालको नाम चर्चामा छ । सरकारी वकिल समूहबाट नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, उद्धवप्रसाद पुडासैनी र ध्रुव चौहानको चर्चा छ । सहन्यायाधिवक्ताबाट अच्युतमणि ढकाल, सन्देश श्रेष्ठ, ईश्वरी ढकाल र दिनेश घिमिरेको पनि सम्भावना छ ।












