बाढीबाट घाइते २४ जना रसुवा अस्पतालमा, एक जनाको मृत्यु, ६ जना गम्भीर

52
shares

काठमाडौं । बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ । उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि अस्पताल आइपुगेको बताए । उनले एक जना घाइतेको मृत्यु भएको पुष्टि गरे ।

थापाका अनुसार घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ । ६ जना गम्भीर अवस्थाका बिरामीलाई भने अस्पतालले रेफर गरेको छ ।

‘गम्भीर प्रकृतिका ६ जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको उनले बताए। सामान्य अवस्थाका केही बिरामीलाई पनि आवश्यक उपचारपछि रेफर गरिएको छ,’ थापाले भने ।

बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी रहेकाले अस्पतालले उपचार र उद्धारका लागि आफ्नो उपलब्ध जनशक्ति तथा स्रोतसाधन परिचालन गरिरहेको छ।

हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार भइरहेको थापाले बताए ।

‘उताबाट केसहरू आउने क्रम जारी छ। अस्पतालले सक्ने जति उपचार गरिरहेको छ र थप उपचार आवश्यक पर्ने बिरामीलाई ट्रान्सफर तथा रेफर गरिरहेका छौँ,’ उनले भने ।

अस्पतालमा स्वास्थ्यकर्मीका साथै जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन्।

उद्धार तथा उपचार व्यवस्थापनमा उपलब्ध जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरिएको अस्पतालले जनाएको छ।

प्रभावित क्षेत्रबाट थप घाइते आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

‘गम्भीर प्रकृतिका बिरामी आउने क्रमलाई ध्यानमा राखेर हामी तयारी अवस्थामा छौँ। आवश्यक परे थप बिरामीलाई तत्काल रेफर गर्ने व्यवस्था मिलाइएको छ,’ थापाले भने ।