काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव देखाएको छ ।
कारोबार सुरु भएको पहिलो एक घण्टामा बजार परिसूचक नेप्से ३५ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६२० मा कायम भएको छ । कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि केही सम्हालिएको छ ।
कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । एक घण्टामै ३ अर्ब ४४ करोडको कारोबार भएको छ । जबकि अघिल्लो दिन पूर्ण चार घण्टामा ४ अर्ब ६८ करोडको कारोबार भएको थियो ।
पहिलो एक घण्टामा सबै समूहगत सूचक बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार १ प्रतिशतभन्दा धेरै बढेका छन् ।
पहिलो एक घण्टामा २५५ कम्पनीको मूल्य बढ्दा १५ को घटेको छ भने ६ को स्थिर रह्यो । यतिबेलासम्म जोशी हाइड्रोपावरको ६, उन्नति सहकार्य लघुवित्तको ४, सिन्धु विकास बैंकको ४ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै अपी पावर, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक कारोबारका अगाडि रहेका छन् ।














