पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलाइयो

286
shares

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो।

‘एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरिएको हो’, आयोगका सहप्रवक्ता श्यामबाबुले भने, ‘आयोगको टोलीलाई हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न लागिएको हो।’

आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली पूर्वप्रधान न्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न दिएको थिएन। भेट नदिएपछि आयोगको टोली फर्किएको थियाे।

आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा थ्रेट भन्दै उनलाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो।