प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको गरिमा बढायो : परराष्ट्रमन्त्री खनाल

234
shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उँचो बनाएको बताएका छन्।

बुधवार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गरेका हुन् ।

परराष्ट्रमन्त्री खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधन यो वर्षको संयुक्त राष्ट्रसंघीय महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भिडियोमध्ये एक बनेको छ। राजनैतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व कसरी गर्छन् भन्ने चासो नेपाल र अन्तर्राष्ट्रिय समुदाय दुवैमा रहेकाले यसपटकको सहभागिता विशेष रहेको उनले उल्लेख गरे।

नेपालको कूटनीतिक सक्रियताका लागि यो महासभा एक महत्त्वपूर्ण अवसर बनेको मन्त्री खनालको भनाइ छ। प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको मुद्दालाई स्पष्ट र सशक्त रूपमा राख्न सफल भएको र यसले देशको कूटनीतिक छविलाई थप बलियो बनाएको सरकारको ठहर छ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले भने, ‘प्रधानमन्त्रीको सम्बोधनअघि नै नेपालले राजनैतिक परिवर्तनपछि विश्व मञ्चमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासो थियो। सम्बोधनपछि विश्वभरका सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको र संयुक्त राष्ट्रसंघको यस वर्षका सर्वाधिक हेरिएका सम्बोधनमध्ये एक बनेको छ। त्यसपछि भएका भेटवार्तामा समेत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले सम्बोधनको प्रशंसा गर्दै उठाइएका विषयप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।’

महासभाको साइडलाइनमा भएका विभिन्न छलफलहरूमा नेपालले उठाएको जलवायु वित्त र न्यायको मुद्दाले निकै महत्त्व पाएको उनले बताए। महासभामा सहभागी भई फर्किने क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको कूटनीतिले क्षेत्रीय र वैश्विक स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढ्नु र आकस्मिक विपद्का घटनाहरू निम्तिनुलाई नेपालले आफ्नो राष्ट्रिय सुरक्षा र विकासको मुख्य चुनौतीका रूपमा विश्व मञ्चमा राख्दै आएको छ।