सामान्य अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार करिब चार अर्ब

195
shares

काठमाडौं । सेयर बजारमा बिहीबार (असोज २२) सामान्य अंकको वृद्धि देखियो । सेयर बजार परिसूचक २.३१ अंकले बढेर नेप्से २५७४.६५ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार पनि करिब चार अर्ब रुपैयाँको हाराहारीमा भएको छ । लगानीकर्ताले कुल तीन अर्ब ९० करोडको कारोबार गरेका हुन् ।

सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको सेयर कारोबार भएको छ । यो कम्पनीको २६ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये १४० वटाको सेयर मूल्य बढेको छ । १२७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार बढ्नेमा कुथेलीबुखरी हाइड्रो अगाडि छ । यो कम्पनीको सेयरमा १५ प्रतिशतको वृृद्धिसहित सकारात्मक सर्किट लागेको छ । घट्नेमा आरबीबी म्युचुअल फन्ड अगाडि छ । यसको सेयर मूल्य ८.०७ प्रतिशतले घटेको हो ।