
जर्मनीमा भइरहेको युरो २०२४ मा समूह चरणको खेलहरु सकिएपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गएराति समूह एफको अन्तिम २ खेल भएपछि समूह चरणका खेलहरु सकिएका हुन् ।
यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुग्दा तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।
चार समूहबाट ३-३ तथा दुई समूहबाट २-२ टोली नकआउट चरणमा पुगेका हुन् । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमश: समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।