अरूको मृत्युमा आफ्नो जीवन देख्ने माओवादी दर्शन नयाँ होइन । आफैं केही गर्न सक्ने भन्दा पनि अरूमा संकट उत्पन्न भएर वा गराएर त्यसबाट केही गर्न सकिन्छ भन्ने माओवादीले अंगीकार गरेको नीति नै हो ।
पुष्पकमल दाहालले आफ्नो राजनीतिक जीवनमा प्रयोग गर्दै आएको यस नीतिलाई एमालेका सन्दर्भमा पनि एक हदसम्म असफल प्रयोग गरिसक्नुभएको छ । आफ्नो पार्टी कमजोर हुँदै जाँदा २०७४ मा नेकपा (एमाले) सँग चुनावी मोर्चा र पछि पार्टी एकता गर्न बाध्य हुनुभएका उहाँले बलियो कम्युनिस्ट पार्टीका लागि नभएर आफ्नो भविष्यको सुरक्षित अवतरणका लागि त्यो कदम चाल्नुभएको पुष्टि हुन धेरै कुर्नै परेन ।
तर, उहाँको सफलता के हो भने विभाजन हुँदा उहाँले साविक एमालेलाई केही हदसम्म क्षति पु¥याउने सफलता हात पार्नुभयो । सिंगो पार्टी र देशको नेतृत्व गरिसक्नुभएका नेताहरूलाई सम्मोहन लगाए झैं गरी एमालेबाट बाहिर निकालेर आफ्नो उपग्रहका रूपमा समाजवादी नामक पसल थाप्न लगाउनु प्रचण्डको कम सफलता होइन ।
अहिले पनि उहाँलाई आफ्नो पार्टीभन्दा बढी एमालेको चिन्ता छ । एमालेमा क्रमशः विभाजनका घाउ पुरिंदै जाँदा, यसले आफूलाई थप बलियो बनाउँदै जाँदा र यसका पक्षमा जनमत बौरिंदै गर्दा प्रचण्डलाई फेरि चिन्ता थपिएको छ ।
एमालेका विरुद्धमा गठबन्धन बनाउँदा पनि, एमालेलाई विभाजित गर्दा पनि, एमालेलाई एक्ल्याउनका लागि सम्भव उपायको अवलम्बन गर्दा पनि, एमालेको मतमा प्रधानमन्त्री भएर एक महिनाभित्रै धोका दिंदा पनि एमाले अविचलित रूपमा अघि बढिरहेको र आफ्नो अभियानका साथ गाउँ–गाउँमा पुगिरहेको देख्दा प्रचण्डलाई छटपटी भएको बुझ्न सकिन्छ ।
यसबाट के पनि देखिन्छ भने राजनीतिमा सर्पले जमिनको चाल थाहा पाए झैं हावा कता बहेको छ भन्ने थाहा पाउने पुष्पकमल दाहाललाई प्रधानमन्त्री भए पनि चैनको निद्रा लाग्न सकेको छैन । यही भएर उहाँले फेरि एमालेभित्र विग्रह ल्याउन सकिन्छ कि भन्ने कोसिस गरेको बुझ्न सकिन्छ ।
आजको एमाले संकटबाट पार भएको एकताबद्ध र सुदृढ एमाले हो, गुटहरूको मोर्चा होइन । पार्टी निर्माण गरेका र पार्टीले व्यक्तित्व निर्माण गरेका नेताहरूले व्यक्तिगत कुण्ठा र टकरावका कारण पार्टी छाड्दा पनि यसका लाखौं कार्यकर्ताले मन दह्रो बनाएर, पेटमा पटुका कसेर पार्टीलाई बचाएका छन्, माथि उठाएका छन् ।
त्यसैले आजको एमाले कसैले धूपबत्ती बाल्दैमा प्रभावित भइहाल्ने अवस्थामा छैन । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध र दृढ रहेको पार्टीभित्र कहींकतै छिद्र छन् कि भनेर खोज्नुभन्दा आफ्नै पार्टीभित्रका उपगुटहरूलाई मिलाउनु धेरै बुद्धिमानी काम हुन्छ ।
वस्तुतः माओवादी आन्दोलन विघटनको सँघारमा छ । हिजो उठाएका मूल्यहरूको आधारमा हेर्दा त माओवादी आन्दोलन विसर्जन नै भइसकेको छ । तर, पार्टीका रूपमा चाहिं सानोतिनो भए पनि बँचेकाले माओवादीको नाम चाहिं छ ।
आफैंले वर्गशत्रु, बुर्जुवा, दक्षिणपन्थी र कहिले त प्रतिक्रियावादी वर्ग समेत भनिरहेको नेपाली कांग्रेसको वैचारिक नेतृत्वमा हिंडेपछि माओवादीले आफूलाई हिजोको उत्तराधिकारी भन्न मिल्दै मिल्दैन । साथै, माओवादी आन्दोलनलाई १० वर्षसम्म एकसाथ हाँकेका प्रमुख नेताहरू पनि आज एकै ठाउँमा छैनन् ।
जस्तो कि मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द, सीपी गजुरेल, लेखराज भट्ट जस्ता कुनै वेलाका माओवादी आन्दोलनका प्रमुख हस्तीहरू आज यो पार्टीमा छैनन् । त्यसैले यसै पनि माओवादी आन्दोलनको उत्तराधिकारमा प्रश्न खडा भएकै थियो, झन् कांग्रेससँग मिलेपछि त बँचेखुचेको कम्युनिस्ट साख पनि संकटमा परेको छ ।
माओवादी सत्तामा छ । २७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ सिट अर्थात् ११ प्रतिशत संख्या भए पनि संसद्को गणितका कारण माओवादीले सरकारको नेतृत्व गर्न पाएको छ ।
सत्ताका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने भएका कारण पुष्पकमल दाहालले एमालेसँग मिलेर सरकार बनाउनुभयो, एक महिनाभित्रै कांग्रेससँग लहसिनुभयो । अहिले उसैसँग मिलेर सरकार चलाइरहनुभएको छ ।
खेलो–फड्कोका आधारमा सत्तामा जानु एउटा कुरा हो तर आजको माओवादीमा कुनै स्वत्व बाँकी छैन । केही बाध्यकारी घटनाहरूमा भएको छानबिनको लाभ लिन जति खोज्दा पनि त्यसको वास्तविक सुई स्वयम् माओवादी नेताहरूतिर सोझिएपछि त्यो हतियारमा पनि खिया लागिसकेको छ ।
सत्ताको वरिपरि रमाउने निश्चित वर्ग, नियुक्ति पाउने कार्यकर्ता पंक्ति, सीमित नेता र तिनका आसेपासे बाहेक एजेन्डाका हिसाबले माओवादी नेतृत्वको सरकारको कुनै अनुभूति उसकै कार्यकर्ताले गर्न सक्ने अवस्था छैन । मुलुकको अर्थतन्त्र र परराष्ट्र नीति कांग्रेसलाई जिम्मा दिएर नवीनता दिन्छु भन्नु खुट्टा बाँधिएको धावकले ‘म म्याराथुन जित्छु’ भने जस्तै मात्र हुन्छ ।
माओवादीमा आज कुनै आकर्षण छैन । पुराना कार्यकर्ताहरू आफ्नै सपनाको मलामी बन्न विवश छन्, नयाँ कोही आउन तयार छैन । हिजो नेकपा विभाजित हुँदा माओवादी पृष्ठभूमिका कैयौं नेता–कार्यकर्ताले एमाले रोजे तर एमाले पृष्ठभूमिको एक जना पनि माओवादीतिर गएनन् ।
अझ हिजो माओवादीतिर लागेकाहरू पनि धमाधम एमालेमा फर्किरहेका छन् । माओवादीले बन्दुक बिसाउँदा जन्मेको मानिस आज १७ वर्षको नागरिक भइसकेको छ र उसलाई माओवादीको कथित ‘जनयुद्ध’को महिमा गाएर पुराना घटनाको हिस्सेदारी लिनु छैन ।
पुराना बँचेखुचेका कार्यकर्ता, अरू पार्टीमा जाँदा भविष्य नभएका, युद्धमा लागेका कारण मालामाल भएका, माओवादी सरकारमा जाँदा त्यसबाट लाभ लिन पाउने निश्चित मानिस मात्र आज माओवादी पार्टीमा छन् । यी मानिसहरू सक्रिय रहुञ्जेल अझै केही समय माओवादीको साइनबोर्ड चल्छ । तर, नयाँ पुस्ताको विल्कुल आकर्षण नभएको माओवादी पार्टीको कुनै भविष्य छैन भन्नेमा द्विविधा छैन ।
माओवादीले अहिले एमालेको ‘मिसन ग्रासरुट’ को सिको गर्दै ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ नामक अभियान चलाएको घोषणा गरेको छ । यस्तो नाम सुन्दा मात्रै पनि गाउँघरका आम मानिसहरू तर्सिने अवस्था छ ।
हिजो माओवादीका ज्यादती र यातना भोगेका मानिसहरू फेरि माओवादी घरघरमा आउने भयो भन्ने खबरले खुसी कसरी हुनसक्छन् र ? कथित ‘जनयुद्ध’का नाममा पकाएको खाना खान नदिएको, थकाइ लागेको वेला सुत्न नदिएको, परिवारका सदस्यहरूको आफ्नै अगाडि हत्या गरेको जस्ता अपराध मानिसले बिर्सेका छैनन् । फेरि तिनै माओवादी घरघरमा आउँदा के अनिष्ट हुन लाग्यो भन्ने अवस्था छ ।
यस्तो पार्टीले जतिसुकै बल गरे पनि थप जनसमर्थन जुटाउन असम्भव छ । भएका आफ्ना कार्यकर्तालाई भुलाउने, फकाउने र सक्रिय राख्ने काम त होला, त्यसबाहेक माओवादीमा यस्ता कुनै पनि अभियानले आकर्षण बढाउन सम्भवै छैन ।
माओवादीले जतिवेला रूपान्तरण अभियान सञ्चालन गरेको छ, त्यतिवेला उसका शीर्षस्थ नेताहरू एकपछि अर्को गर्दै काण्डहरूमा मुछिएका छन् । तस्करसँग कसैका तस्वीर सार्वजनिक भएका छन्, कसैका कल डिटेल सार्वजनिक भएका छन् । आफू मात्र होइन, परिवारै तस्करीमा लागेका समाचारहरू सार्वजनिक भएका छन् ।
यस्तो वेलामा माओवादी कार्यकर्ताले बुझ्ने/बुझाउने रूपान्तरण कस्तो होला ? ती नेताहरूले आम मानिससँग गएर भन्ने कुरा के होला ? माओवादीका सच्चा कार्यकर्ताहरूका मनमा के यस्ता प्रश्न छैनन् होला र ?
माओवादी निरन्तर ओरालो यात्रामा छ । यो कुनै आरोप होइन, तथ्यहरू नै साक्षी छन् । माओवादी शान्ति प्रक्रियामा आएयताका चार वटा निर्वाचनलाई नियाल्दा पाँचौं निर्वाचन (२०८४) कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० सिटमध्ये एक्लै १२० सिट अर्थात् ५० प्रतिशत जितेको थियो भने समानुपातिकतर्फ २९.२२ प्रतिशत मत ल्याएको थियो ।
पाँच वर्ष नपुग्दै २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी घटेर प्रत्यक्षतर्फ २७ सिटमा खुम्चिएको थियो भने समानुपातिक मत पनि झण्डै आधा घटेर १५.२१ प्रतिशतमा झरेको थियो ।
२०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ १६५ सदस्यीय प्रतिनिधिसभामा ३६ सिट जितेको थियो भने समानुपातिक मत चाहिं घटेर १३.६५ प्रतिशतमा झरेको थियो ।
अनि २०७९ सालमा कांग्रेससँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ आधा क्षति भोगेर १८ सिटमा चित्त बुझाउनुपरेको छ भने समानुपातिक मत १३.६३ प्रतिशतमा झरेको छ ।
माओवादीको यस ओरालो यात्राबाट त्यसका आजीवन सुप्रिमो हतास हुनुहुन्छ । सबै दल र नेतालाई झैं उहाँको दिमागमा पनि २०८४ साल नाचिरहेको छ । २०७४ मा एमालेसँग र २०७९ मा कांग्रेससँग नमिलेको भए माओवादीको के हालत हुनेथियो भन्ने राम्ररी बुझेकाले होला, २०८४ अघि समाजवादी मोर्चाका नाममा हुन्छ कि एमालेमा विग्रह गराएर हुन्छ, केही गर्न सकिन्छ कि भन्ने प्रयासमा उहाँ लागेको देखिन्छ ।
तर, अब माओवादीको निरन्तरको यस ओरालो यात्रालाई पुष्पकमल दाहाल त के, तियानमेन स्क्वायरमा चिरनिद्रामा राखिएका कमरेड माओ स्वयम् उठेर आए पनि रोक्न सम्भव छैन । त्यसैले एमालेमा विध्वंस हुन्छ भनेर पर्खिनुभन्दा जहाँबाट गल्ती भएको हो, छिट्टै त्यही विन्दुमा फर्किनुबाहेक अर्को सहज विकल्प छैन ।