नेतृत्व चयन ढिलो भएपछि हेटौंडाबाट फर्कन थाले रास्वपाका प्रतिनिधि

78
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलो गरेपछि प्रतिनिधिहरु घर फर्कन थालेका छन् ।

मंगलबार विहान सुरु भएको अधिवेशन हिजो नै सक्ने गरी कार्यतालिका बनाइएको थियो । बुधबार बिहानसम्म मतदान सुरु नभएपछि धेरै प्रतिनिधि घर फर्केको हेटौंडामा रहेका एक प्रतिनिधिले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका थिए । अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापति पदमा उम्मेदवारी दिएका थिए । मतदान प्रक्रिया समयमा सुरु हुन नसकेपछि अधिकांश प्रतिनिधि घर फर्केका छन् ।

अधिवेशनका लागि हेटौंडा पुगेका एक प्रतिनिधिका अनुसार निर्वाचन समितिका कारणले अधिवेशन स्थगित हुन पुगेको बताए । उनी भन्छन्,‘हिजो मतदान नभएपछि ७० प्रतिशत बढी प्रतिनिधि घर फर्किसके । निर्वाचन समितिले मतदान समयमा गर्न नसक्दा अधिवेशन स्थगित हुने अवस्था बन्दै गयो ।

संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र विभाग सचिव शंकर श्रेष्ठको अकर्मण्यताले समयमा मतदान सुरु हुन नसकेको ती प्रतिनिधिको भनाइ छ । उनी भन्छन्, ‘केन्द्रीय नेताहरु रहेको निर्वाचन समितिले समयमा मतदान प्रक्रिया सुरु नगरेपछि कमजोरी उहाँहरुकै देखियो ।’

संगठन विभागका सचिव श्रेष्ठले मतदानमार्फत नेतृत्व चयन गर्ने प्रक्रियामै रहेको जानकारी दिए । धेरै उम्मेदवारका लागि मतपत्र छपाउन समय लागेको हुँदा अधिवेशन लम्बिएको उनले बताए ।

श्रेष्ठले भने, ‘मतदान हुन्छ । कति बजेबाट गर्ने बारे छलफल गर्दैछौं । आज मतदान हुन नसके अर्को दिन गर्ने गरी भएपनि निर्वाचनबाट नयाँ नेतृत्व आउँछ ।’

अधिवेशनमा १३ सय बढी प्रतिनिधि सहभागी थिए । रास्वपाले प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरेको थियो ।