
तर त्यही प्रतिवेदनमाथि छलफल गर्न बसेको सिंगो केन्द्रीय समिति उनको विपक्षमा खडा भयो । सभापति रविले उनको मागअनुसार केन्द्रीय समिति बैठक लाइभ गरौं भन्दा समेत अस्वीकृत गर्यो र महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गर्यो । बुधबार अर्को बैठकले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय लिएको छ ।
बैठकमा आफूसहितका नेताहरुले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने माग उठेको सहप्रवक्ता रमेश प्रसाईंले जानकारी गराए । तर सभापति लामिछानेले सच्चिने अवस्था भए मौका दिनुपर्ने मत राखेका थिए । उनले भनेका थिए, ‘मुकुलजी मेरो परिवारको सदस्य हो । सुरुदेखि नै सहयात्रामा हिंडेको साथी हो । सच्चिने मौका दिनुपर्छ ।’
ढकाललाई पदमुक्त गर्ने पार्टी केन्द्रीय समितिको निर्णय चित्त नबुझे उजुरी गर्ने ३५ दिन म्याद दिएको छ ।
नेताहरुले मन्त्री बन्न भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको आरोपमा बर्खास्त भएका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई जस्तै गरी उजुरी र पुनरावेदनका लागि ३ दिन मात्र समय दिनुपर्ने मत राखेका थिए । तर सभापति लामिछानेकै जोडबलमा ३५ दिन म्याद दिने निर्णय भएको छ ।
‘सभापतिको अहिले पनि उहाँ पनि सद्भाव नै देखिन्छ’, रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर असीमित महत्वाकांक्षा बोकेर हिंड्नुभएका मुकुल ढकालको कार्यशैलीका कारण सभापतिले चाहेर पनि उहाँलाई जोगाउन सक्ने अवस्था रहेन ।’







