साना दलले समेत किन पत्याएनन् प्रधानमन्त्री प्रचण्डलाई ?

  • माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले शुक्रबार संसद्‍मा विश्वासको मत लिए । उनलाई आफ्नो पार्टीसहित माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन मात्र गरे ।

    यी तीन पार्टी मिलाएर प्रधानमन्त्री प्रचण्डले कूल ६३ मत प्राप्त गरे । संसद्‍मा उपस्थिति २५८ जना सांसदमध्ये १९४ मत उनको विपक्षमा पर्‍यो । एक जना सांसद तटस्थ बसे ।

    दुई ठुला दलले गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री पदबाट हटाउने सहमति नै गरिसकेपछि विश्वासको मत पाउने सम्भावना थिएन । तर साना दल, जो दुई दलको सहमतिमा सहभागी पनि थिएनन्, ती दलले समेत प्रधानमन्त्री प्रचण्डलाई साथ दिएनन् ।

    यसमध्ये कतिपय यस्ता दल छन्, जसले प्रधानमन्त्री प्रचण्डलाई सुरुदेखि नै साथ दिँदै आएका थिए । ती पार्टीले प्रधानमन्त्री प्रचण्डबाट पटक पटक सहयोग पनि पाएका थिए ।

    रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री प्रचण्डले ठुलो सहयोग गरेका थिए । तर, उनीहरूसमेत प्रचण्डको साथमा रहेनन् ।

    गणतन्त्र स्थापना भएदेखि निरन्तर साथ दिँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि यसपटक प्रचण्डको साथमा उभिएनन् । उनले त प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी विभाजन गरेको कारणले उनलाई साथ नदिने स्पष्ट पारे ।

    तर अशोक राई नेतृत्वको जसपालाई पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डले साथ र सहयोग दिएका थिए । पार्टी विभाजनमा कानुनी अड्चनहरू थिए । प्रधानमन्त्री प्रचण्डले साथ नदिएको भए अशोक राईबाट पार्टी विभाजन गर्न सम्भव पनि थिएन । त्यसका कारणले पुरानो र सबभन्दा भरपर्दो सहयात्री उपेन्द्र यादवलाई गुमाए । तर राईको दलले पनि अन्तिममा विश्वासको मत दिएन ।

    जसपाका महासचिव इस्तियाक राई भने पार्टी विभाजनमा प्रधानमन्त्री प्रचण्डका कुनै साथ सहयोग नभएको र आफूहरूकै बलमा पार्टी विभाजन भएर नयाँ पार्टी गठन गरेको दाबी गरे । आफूहरूले नयाँ पार्टी गठन गरिसकेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकार छाडेर गएको र आफूहरूले एमाले–माओवादी गठबन्धनको सरकारलाई साथ दिएको स्पष्ट पारे । अहिले पार्टीको निर्णय अनुसार काँग्रेस–एमाले गठबन्धन साथ दिएको उनको भनाई छ ।

    यसैगरी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि प्रधानमन्त्री प्रचण्डको साथ र सहयोग रहेको थियो । श्रेष्ठलाई मन्त्री बनाउनुदेखि लिएर पार्टीको अध्यक्षमा कायम राख्नसम्ममा प्रधानमन्त्री प्रचण्डले सहयोग गरेका थिए ।

    जसले गर्दा नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका श्रेष्ठका श्रीमान् रेशम चौधरीबाट प्रधानमन्त्री प्रचण्ड निकै आलोचित भएका थिए । जोखिम लिएरै प्रधानमन्त्री प्रचण्डले रञ्जिता श्रेष्ठलाई साथ दिएका थिए । तर सो पार्टीबाट पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मात पाएनन् ।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘नागरिक उन्मुक्ति पार्टी सुरुदेखि सत्ताधारी दल भएको कारण यसपालि पनि सत्ता गठबन्धनलाई साथ दिएको हो ।’

    पार्टीका संरक्षक रेशम चौधरीले सुरुदेखि कांग्रेसप्रति झुकाव राखेको र अहिले कांग्रेसले एमालेसँग गठबन्धन बनाएको कारणले उनकै सुझावमा सत्ता गठबन्धनलाई साथ दिएको उनको भनाई छ । ‘व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध राम्रै छ तर राजनीतिमा कहिलेकाहीँ यस्ता अप्रिय निर्णय लिनुपर्छ । पार्टीको निर्णय अनुसार विपक्षमा मतदान गर्न बाध्य भएका हौँ,’ उनले भनिन् ।

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कहिले पनि माओवादीको पक्षमा थिएन । कांग्रेस जहाँ–जहाँ गयो, लोसपा त्यहीँ–त्यही जान्थ्यो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले विगतमा लोसपाबाट विश्वासको मत पाएका थिए, तर त्यो कांग्रेसका कारण मात्र ।

    एक समय थियो, स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह र प्रधानमन्त्री प्रचण्ड बिच गुरु–चेलाजस्तो सम्बन्ध थियो । त्यतिबेला सांसद सिंह कांग्रेसमै थिए । कांग्रेस माओवादीका अध्यक्ष प्रचण्डको घोर विरोध गर्दा पनि सांसद सिंहले साथ दिइरहन्थे । जतिबेला पनि सांसद सिंह प्रधानमन्त्री प्रचण्डकै वरिपरि हुन्थे । प्रधानमन्त्री प्रचण्डको सल्लाहकार जस्तै थिए उनी ।

    तर कांग्रेस पार्टीबाट स्वतन्त्र भएर चुनाव जितेपछि माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध बिग्रेको थियो । पछि त्यसमा केही सुधार पनि भयो । एमालेको सहयोगमा प्रधानमन्त्री बनाउनमा उनले पनि सहयोग गरेका थिए । तर जब प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग पुनः सहकार्य गरे, दुवै जनाको बिचमा दुरी पुनः बढ्यो । अहिले स्वतन्त्र सांसद सिंहले पनि प्रचण्डलाई साथ दिएनन् । उनी काँग्रेस–एमाले गठबन्धनको साथमा उभिए ।

    त्यस्तै, जनयुद्धकालमा प्रधानमन्त्री प्रचण्डसँग लामो सहकार्य गरेका प्रभु साहले माओवादी केन्द्रबाट पटक पटक चुनाव जितेका थिए । उनी पार्टीबाट मन्त्री पनि भएका थिए । तर जब नेकपा विभाजन भएर एमाले र माओवादी अलग–अलग भए, त्यसपछि उनी माओवादी छाडेर एमालेमै बसे ।

    तर उनी एमालेमा पनि लामो समय बस्न सकेनन् । उनी २०७९ को चुनाव स्वतन्त्र भएर जिते । अहिले उनी आफ्नै नेतृत्वमा आम आदमी पार्टी नेपाल गठन गरेका छन् । स्वतन्त्र सांसद भए पनि उनले प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्दै आएका थिए । पटक–पटक विश्वासको मत दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्डसँग पछिल्लो समय उनको राम्रो सम्बन्ध बनिसकेको थियो । प्रभु साह माओवादीमै फर्किनेसम्मको चर्चा चलेको थियो । तर शुक्रबार विश्वासको मत दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रभु साहको पनि साथ पाएनन् ।

    राप्रपा वामपन्थी भन्दा पनि प्रजातान्त्रिक विचारधाराको पार्टीनिकट भएर काम गर्दै आएको पार्टी हो । माओवादीप्रति राप्रपा कहिले सकारात्मक थिएन । कांग्रेसप्रति झुकाव राख्ने राप्रपाले माओवादी प्रचण्डलाई विश्वासको मत दिने कुरै भएन । राप्रपा अहिले कांग्रेस–एमाले गठबन्धनको पक्षमा सो पार्टी उभिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation