यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए । ‘बंगलादेशको दूतावासमा विपद हेर्ने छुट्टै कर्मचारीहरु हुन्छन् । उनीहरुमार्फत् सहयोग मागेका छौं,’ डा. भूसालले भने ।
तर बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन । दूतावासका कर्मचारीहरुले पनि शान्त खालका नदी तथा तलाउहरुमा खोज्ने दक्षता मात्र आफूहरुसँग भएको तर त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको जवाफ दिएका थिए ।
सहसचिव डा. भूसालले भने, ‘हामीले स्वदेशी–विदेशी सबैसँग सम्पर्क गरी खोजी कार्य तीव्र पारेका छौं । सम्भव भएसम्मका सबै उपायहरु अपनाएका छौं । त्यसैले छिट्टै सफलता हात लाग्ने आशा छ ।’
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म नौ जनाको मात्र शव फेला परेको छ ।
खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ । तर त्रिशूली नदीको तीव्र बहाव चुनौतीको रुपमा रहेको डा. भूसालले बताए । ‘नदीको करेन्ट प्रवाह यति तीव्र छ कि मोटर बोट लैजान पनि जोखिम छ,’ डा. भूसालले भने, ‘तर पनि खोज तथा उद्धारमा सम्भव भएसम्मका सबै उपाय अपनाइएको छ, छिमेकी देशसँग पनि सहयोग मागेका छौं ।’