इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो युरोकपको उपाधि

689
shares

स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ।

जर्मनीको बर्लिनमा सोमबार राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।

इंग्लिस टिमलाई पराजित गर्न निको विलियम्स र मिकेल ओयरजबालले एक/एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ४७ औं मिनेटमा लामिन यमालको पासमा निको विलियम्सले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाएका थिए।

अग्रता लिएसँगै इंग्लिस टोलीमाथि स्पेनिस टोली हाबी देखिएको थियो।

७३ औं मिनेटमा कोल पाल्मरले बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड खेलमा फर्किएको थियो। पाल्मर ७० औं मिनेटमा कोबी मायनुलाई सब्सिच्युट गर्दै मैदान प्रवेश गरेका थिए।

उनले ज्युड बेलिङ्घमको सुन्दर पासमा सानदार गोल गरे।

बराबरी गोल फर्काएपछि इंग्ल्याण्ड आक्रामक र स्पेन केहीबेर रक्षात्मक देखिएको थियो।

८६  औं मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयरजबालले गोल गरेपछि स्पेन उपाधि नजिक पुगेको थियो।

अन्तिम समयमा इंग्ल्याण्डले गोल गर्ने प्रयास गरेपनि ड्यानी ओल्मोले हेडमार्फत सानदार बचाउ गरेपछि स्पेनले युरोकपको उपाधि जितेको हो।

स्पेनले जारी युरोकपमा अपराजित रहँदै उपाधि जितेको हो।

समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै नक आउट चरणमा प्रवेश गरेको स्पेनले नक आउटमा जर्जिया र क्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनल पुगेको थियो।

युरोकपमा स्पेनको यो चौथो उपाधि हो।  यसअघि सन् १९६४, २००८ र २०१२ मा स्पेनले युरोकपको उपाधि जितेको थियो।

इंग्ल्याण्डले पहिलोपटक युरो च्याम्पियन बन्ने मौका गुमाएको छ।