जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

  • अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ ।

    मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

    असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए ।

    नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन् ।

    परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलाले नहर बगाएपछि नहर मर्मत गर्न केही महिना नै लाग्ने संस्थाले जनाएको छ ।

    अहिले खोलामा पानीको बहाव धेरै भएकाले मर्मत गर्न समस्या रहेको खरेलले बताए । त्यस स्थानमा राष्ट्रिय प्रसारण लाइन पनि पुगेको छ । तर उक्त विद्युतको ट्रान्स्फर्मर क्षमता कमजोर हुँदा मोबाइल चार्ज गर्ने बाहेक अन्य कामहरु नहुने गरेको खरेलको भनाइ छ ।

    विद्युत नहर मर्मत गर्न लामो समय लाग्ने भएपछि त्यस क्षेत्रका नागरिक लामो समयसम्म अन्धकारमा बस्न बाध्य हुनुपर्ने भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation