उद्योगको काटिएकाे लाइन जोड्न प्रधानमन्त्रीको कुलमानलाई निर्देशन

सरकार परिवर्तनसँगै उद्योगीलाई राहत

858
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधका बिच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै ओलीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिएका हुन् । यसले उद्योगीहरू उत्साहित देखिएका छन् ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरूको सहभागिता रहेको बताइएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै घिसिङमाथि आवश्यक निर्णय गर्नुपर्ने दबाब आइपरेको छ ।