
इएसपीएनले सार्वजनिक गरेको ‘२१औं शताब्दीका महान १०० खेलाडी’को सूचीमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोभन्दा १० स्थान माथि परेका छन् । मेस्सी तेस्रो तथा रोनाल्डो १३औँ नम्बरमा परेका हुन् । च्याम्पियन्स लिगको उपाधिको तुलना एनबीए एमभीपी र ओलम्पिक स्वर्ण पदकसँग हुन्थ्यो भने मेस्सी पहिलो हुन सक्थे । इएसपीएनको तायाङ्कमा फ्रान्सका फुटबल स्टार किलियन एम्बाप्पे ६६औँ नम्बरमा छन् । क्रोएसियाका लुका मोड्रिक ५५औँ नम्बरमा छन् । यसैगरी स्पेनका एन्ड्रेस इनिएस्टा ७० तयाङ्कमा छन् । तेस्रो नम्बरमा परेका मेस्सीको नाममा १० पल्ट लालिगा उपाधि, सात कोपा डेल रे, चार च्याम्पियन्स लिगको उपाधि छ । यसैगरी, उनी ६ पल्ट च्याम्पियन्स लिगको शीर्ष स्कोरर पनि भएका थिए ।
मेस्सीले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप पनि जिताए । उनकै नेतृत्वमा अर्जेन्टिनाले दुईपल्ट कोपा अमेरिका जित्यो । उनी दुई पल्टका फिता विश्व कप गोल्डेन बल विजेता हुन् । मेस्सीले ऐतिहासिक ८ पल्ट बालोन डी‘आर जितेका छन् । उनी अर्जेन्टिनाका लागि रेकर्ड गोल स्कोरर पनि हुन् । २१औँ सदीका १०० महान् खेलाडीको सूचीमा १३औँ नम्बरमा रहेका रोनाल्डो विश्व फुटबलका हस्ती हुन् । विश्वकपबाहेक उनले आफ्नो करिअरमा सबै सफलता हात पारेका छन् । रोनाल्डो पाँचपल्टका बालोन डी’ओर विजेता हुन् । उनले पाँचपल्ट च्याम्पियन्स लिग, तीनपल्ट प्रिमियर लिग, दुईपल्ट लालिगा, दुईपल्ट सिरि ए, सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेका छन् । कुनै समय थियो, यी प्रतिभाशाली खेलाडी कठिनभन्दा कठिन म्याच जित्ने क्षमता राख्थे । उनको करिअरलाई उनैले भनेको एक भनाइबाट मजाले बुझ्न सकिन्छ । उनी भन्थे, ‘तपाईं आफैंमा आफू सर्वश्रेष्ठ हुँ भन्ने आत्मविश्वास छैन भने तपाईं जेमा सक्षम हुनुहुन्छ, त्यसमा कहिल्यै उपलब्धि हासिल गर्न सक्नुहुन्न ।’ दुई दशकभन्दा लामो समय रोनाल्डोले विश्व फुटबलको शीर्ष स्थानमा रहेर यस्तो विश्वास देखाए । उनले अक्सर यसलाई सत्य सावित गरिदिए । रोनाल्डोलाई कतिपयले गोल मेसिन पनि भन्ने गरेका छन् । ५५औँ नम्बरमा परेका लुका मोड्रिक क्रोएसियाका फुटबल स्टार हुन् । उनी बालोन डी’ओर विजेता पनि हुन् । ६ पल्ट च्याम्पियन्स लिग विजेता, चारपल्ट लालिगा विजेता, विश्व कप फाइनलिस्ट, क्रोएसियाका सबैभन्दा क्याप्ड खेलाडीका रूपमा लुका मोड्रिक अब्बल मानिन्छन् । उनी रियल मड्रिडमा हुँदा संयुक्त रूपमा सबैभन्दा बढी ट्रफी जित्ने खेलाडी हुन् । उनकै नेतृत्वमा सन् २०१८ मा क्रोएसियाले पहिलोपल्ट फिफा विश्वकप फाइनलको अनुभव बटुलेको थियो । एम्बाप्पे विश्व फुटबलका उदाउँदा तारा हुन् ।
करिअरको सुरुमै उनले फ्रान्सलाई फिफा विश्वकपको उपाधि दिलाइसकेका छन् । यसबाहेक उनी सातपलटका लिग १ र चारपल्टका फ्रेन्च कप विजेता हुन् । ७५औँ नम्बरमा रहेका इनिएस्टा स्पेनले विश्वकप जित्दाका महत्त्वपूर्ण खेलाडी हुन् । उनी हुँदा स्पेनले दुईपल्ट युरोपेली च्याम्पियनसिप जितेको छ । चारपल्ट च्याम्पियन्स लिग विजेता, नौपल्टका लालिगा विजेता, बालोन डी’ओर उपविजेताका रूपमा उनलाई इएसपीएनले महान् खेलाडीको सूचीमा राखेको जनाएको छ । पहिलो नम्बरमा को ? इएसपीएनको सूचीमा पहिलो ¥याङ्कमा स्वीमिङका मिकेल फेल्प्स छन् ।
उनी २८ पल्टका ओलम्पिक पदक विजेता हुन् । २३ पल्ट त उनले स्वर्ण पदक नै जितेका छन् । एउटै ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने रेकर्ड उनकै नाममा छ । सन् २००८ मा बेइजिङमा उनले आठ स्वर्ण पदक जितेका थिए । दोस्रोमा सेरेना इएसपीएन सूचीको दोस्रो नम्बरमा टेनिस खेलाडी सेरेना विलियम्स छिन् । उनी २३ पल्टकी प्रमुख च्याम्पियनसिप विजेता हुन् । ३ सय ६५ प्रमुख म्याचमा उनको रकेर्ड छ । उनले ७३ करिअर उपाधि जितेकी छन् ।
चौथोमा बास्केटबल खेलाडी लिब्रोन जेम्स छन् । पाँचौँमा फुटबलका टोम ब्राडी छन् । टेनिसका स्टार नोभाक जोकोभिज ११औँ, टेनिसकै राफाल नाडाल १२औँ नम्बरमा छन् । त्यसपछि १३औँ नम्बरमा रोनाल्डो छन् । महिला फुटबलबाट ब्राजिलकी मार्टा ३२औँ नम्बरमा छिन् । जिनेदिन जिदान ५०औँ, जाबी हर्नान्डेज ७५औँ तथा रोनाल्डो नाजारिओ ८७औँ नम्बरमा छ । ब्राजिलका रोनाल्डिन्हो ९४औँ नम्बरमा छन् भने ज्लाटान इब्राहिमोविक ९५औँ नम्बरमा छन् । विराट कोहली पनि यो सूचीमा भारतीय क्रिकेटर विराट कोहली ९७औँ नम्बरमा अटाएका छन् ।
एक दिवसीय विश्वकप च्याम्पियन, टी२० विश्वकप च्याम्पियन, दुईपल्ट टी२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट, सन् २०२३ एक दिवसीय विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट, दुईपल्ट आईसीसी क्रिकेटर अफ द ईयर, एक दिवसीय इतिहासमा सबैभन्दा बढी शतक (५०), टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै स्कोर गर्ने दोस्रो खेलाडी विराट कोहलीलाई महान् बनाउने उपलब्धि रहेको इएसपीएनले उल्लेख गरेको छ । इएसपीएनको १०० नम्बरमा फुटबलका चार्ल्स वुडसन छन् । खेलाडीले आफ्नो करिअरको २४ वर्षभित्र पाएको उपलब्धि हेरेर वरियता तय गरिएको हो ।
