सहकारी ठगी मुद्दा रविलाई पर्न सक्छ भारी, संसदीय समितिले गर्‍यो सोधपुछको तयारी

416
shares

सहकारीको ठगीबारे छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने तयारी थालेको छ । विगतमा उनी सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कबाट कागज, फाइल झिकाउने निर्णय गरेको समितिले त्यसपछि लामिछानेलाई बोलाउने एक सदस्यले न्युज इन नेपाललाई जानकारी दिए । ‘पहिला गोर्खा मिडिया नेटवर्कबाट फाइलहरू झिकाउने, त्यसपछि तत्कालीन सञ्चालकको हैसियतमा लामिछानेजीलाई बोलाउने तयारी छ’, उनले भने ।

उनलाई अध्यक्ष जीबी राईको पार्टनर अर्थात तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कका सञ्चालकका रूपमा बोलाइने ती सदस्यले बताए । लामिछाने तत्कालीन अवस्थामा मिडियाका प्रबन्ध निर्देशक थिए । यो मिडियामा विभिन्न चार सहकारीबाट झण्डै एक अर्ब रुपैयाँ रकम गैरकानुनी रूपमा लगानी गरिएको थियो । लामिछानेकै नाममा सुप्रिम र सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ जम्मा भएको तथ्य पनि खुलेको थियो ।

तर, यसअघि गृहमन्त्री भएर लामिछानेले सहकारी ठगीको मुद्दा छानबिन अवरोध गरेको भन्दै तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेपछि संसदीय समिति गठन गरिएको थियो ।

पर्न सक्छ लामिछानेलाई अप्ठेरो

१५ जेठमा समिति गठन हुनुपूर्व नेकपा एमाले लामिछानेको पक्षमा देखिन्थ्यो । सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानबिनको माग गर्दा रास्वपाभन्दा बढी प्रतिवाद एमालेले गरेको थियो । यही विवादका कारण संसदमा एमाले र कांग्रेसबीच धकेलाधकेलको स्थिति बनेको थियो । लामो रस्साकस्सीपछि बजेट आउने दिन नै समितिको कार्यविधिमा सहमति गरियो र एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा समिति गठन गरियो । त्यसपछि धेरैलाई लागेको थियो, तत्कालीन समयमा सत्तापक्षकै बहुमत रहेकाले लामिछाने जोगिनेछन् । पछि कांग्रेस र एमाले नै मिलेकाले सहकारी ठगी मुद्दामा लामिछाने अप्ठेरोमा पर्न सक्ने अनुमान छ ।