कस्तो संगठन हो लेबनानको हिजबुल्लाह ? इजरायलसँग किन बढ्यो युद्धको सम्भावना ?

  • इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा शनिबार रकेट आक्रमण हुँदा १२ बालबालिकाको मृत्यु भयो । यो आक्रमणमा हिजबुल्लाहको हात रहेको आरोप इजरायलले लगाएको छ । तर, हिजबुल्लाहले आरोप अस्वीकार गरेको छ । यो घटनापछि दुई पक्षबीच युद्ध हुने आशंका बढेको छ ।

    इजरायलले यसलाई उसको उत्तरी सीमा आसपास ९ महिनायताकै घातक आक्रमण मानिरहेको छ । गाजामा युद्ध सुरु भएपछि इजरायल र हिजबुल्लाहबीच पनि गोलाबारीका कैयौँ घटना भएका थिए ।

    हिजबुल्लाह लेबनानमा इरानसमर्थित शिया इस्लामी राजनीतिक एवम् शक्तिशाली अर्धसैनिक संगठन हो । यसको स्थापना इजरायलविरुद्ध इरानद्वारा सन् १९८० को दशकको सुरुवातमा भएको थियो ।

    त्यो बेला लेबनानमा गृहयुद्ध चलिरहेको थियो । यस्तोमा इजरायलको सेनाले दक्षिणी लेबनानमा कब्जा गरेको थियो । हिजबुल्लाहले सन् १९९२ देखि आम चुनावमा भाग लिइरहेको छ । देशको राजनीतिमा उसले आफ्नो प्रभावशाली उपस्थिति जनाएको छ । संगठनको सशस्त्र विंगले लेबनानमा इजरायली र अमेरिकी सेनामाथि घातक आक्रमण गरेको छ ।

    सन् २००० मा लेबनानबाट इजरायल फर्किँदा हिजबुल्लाहले उसलाई धक्का दिएर निकालेको भन्दै श्रेय लिएको थियो । त्यही बेलादेखि दक्षिणी लेबनानमा हिजबुल्लाहसँग मिसाइलको ठूलो  तैनाथीसाथ हजारौं लडाकु छन् । उसले विवादित क्षेत्रमा बारम्बार इजरायलको उपस्थितिलाई चुनौती दिँदै आएको छ ।

    हिजबुल्लाहलाई पश्चिमा देश, इजरायलसहित गल्फका अरब देश र अरब लिगले आतंकवादी संगठन घोषित गरेका छन् । सन् २००६ मा हिजबुल्लाह र इजरायलबीच युद्ध पनि भएको थियो । यसको सुरुवात हिजबुल्लाहले सीमा पार गरी घातक आक्रमण गरेपछि भएको थियो ।

    संगठनको खतरा समाप्त गर्ने कोसिसमा इजरायली सैनिकले दक्षिणी लेबनानमा आक्रमणका साथै जमिनी कारबाही पनि गरेको छ । तर, इजरायलले हिजबुल्लाहलाई समाप्त गर्न सकेको छैन ।

    को हुन् हिजबुल्लाहका नेता हसन नसरुल्लाह ?

    शेख हसन नसरुल्लाह शिया धर्म गुरु हुन् । उनी सन् १९९२ देखि संगठनको अगुवाइ गरिरहेका छन् । हिजबुल्लाहलाई राजनीतिक दल र सैन्य बलमा परिणत गर्न उनले विशेष भूमिका निभाएका छन् ।

    इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईसँग उनको निकट सम्बन्ध छ । सन् १९८१ मा इरानका प्रथम सर्वोच्च नेता आयातुल्ला रुहोल्लाह खुमैनीले उनलाई लेबनानमा आफ्नो निजी प्रतिनिधि नियुक्त गरेका थिए । यद्यपि, नसरुल्लाह कैयौं वर्षदेखि सार्वजनिक रूपमा बाहिर आएका छैनन् । इजरायलले हत्या गर्ने डरले उनी गुमनाम रहने गरेको बताइन्छ । उनी हरेक हप्ता टेलिभिजनमा भाषण दिन्छन् ।

    हिजबुल्लाह सबैभन्दा भारी हतियार भएको संसारको गैरसरकारी सैन्य बलमध्ये एक हो । इरानले उसलाई फण्ड र हतियार दिन्छ । शेख हसन नसरुल्लाहको दाबीअनुसार, हिजबुल्लाहसँग एक लाख लडाकु छन् । यद्यपि, स्वतन्त्र अनुमानमा हिजबुल्लाहसँग २० देखि ५० हजारको बीचमा लडाकु रहेका छन् ।

    यीमध्ये धेरै लडाकु प्रशिक्षित र युद्ध लड्नमा निपुण छन् । कतिपय त सिरियाली गृह युद्धमा लडिसकेका पनि छन् । सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडिसको अनुमानअनुसार, हिजबुल्लाहसँग सवा लाखदेखि दुई लाख रकेट र मिसाइल छन् ।

    उसँग धेरैजसो सतहबाट सहतमा मार हान्ने अन–गाइडेड साना रकेट छन् । यो कहाँ गएर खस्छ कसैलाई थाहा हुँदैन । हिजबुल्लाहसँग विमान, जहाज रोधी मिसाइल र इजरायलभित्रसम्म मार हान्न सक्षम गाइडेड मिसाइलन पनि रहेको बताइन्छ । उसँग गाजापट्टीको हमासभन्दा धेरै आधुनिक हतियार छ ।

    गत वर्ष ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेको एक दिनपछि अर्थात ८ अक्टोबरमा हिजबुल्लाहले प्यालेस्टाइनी संगठन (हमास) सँग ऐक्यबद्धता जनाउँदै इजरायली शिविरमा विस्फोटक ड्रोन आक्रमण गरेको थियो ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यही आक्रमणको जवाफ दिनका लागि लेबनानमा हिजबुल्लाहको शिविरमा हवाई आक्रमणसँगै तोप हानेको थियो ।
    संयुक्त राष्ट्रसंघका अनुसार, यी आक्रमणले लेबनानमा ९० हजार मानिसलाई आफ्नो घर छोड्न बाध्य पारेको छ । इजरायली आक्रमणमा करिब १०० नागरिक र ३ सय ६६ जना हिजबुल्लाह लडाकुको मृत्यु भएको छ ।

    इजरायली अधिकारीहरू हिजबुल्लाहको आक्रमणका कारण ६० हजार इजरायलीले आफ्नो घर छोड्नुपरेको बताउँछन् । आक्रमणमा परी १० नागरिकसहित ३३ जनाको मृत्यु भएको छ । यस्तो हानाहानका बीच ठूलो मात्रामा लडाइँ गर्न भने दुवै पक्ष अहिलेसम्म रोकिएका छन् ।

    तर, यही बीचमा अर्को चिन्ता पनि गरिँदैछ, यस्तै हानाहानका माझ स्थिति नियन्त्रणभन्दा बाहिर जाने सम्भावना पनि छ । (बीबीसीको सहयोगमा)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation