के कपाललाई फुल्नबाट रोक्न सकिन्छ ?

  • के तपाईंले पनि फुलेको कपाल उखेल्ने गर्नुभएको छ ? उखेल्नुहुन्छ भने पक्कै तपाईंलाई लागेको हुनुपर्छ, सेतोको ठाउँमा कालो कपाल आउने छ । तर, यो भ्रम मात्र भएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।

    कपाललाई कालो बनाउने कोषिकाहरूले परिपक्व हुने क्षमता गुमाएसँगै कपाल सेतो हुन थाल्ने वैज्ञानिकहरूको निचोड छ । यी कोषिका परिपक्व हुँदा मेलनोसाइट्समा परिणत हुन्छन्, जसकारण कपाल प्राकृतिक रङमै रहन्छ । न्युयोर्क युनिभर्सिटीका शोधकर्ताहरूको समूहले मुसामाथि यो अध्ययन गरेका छन् । मुसामा रौँका त्यस्तै कोषिकाहरू हुन्छन् ।

    यो अध्ययनबाट सेतो कपाललाई फेरि कालो बनाउने प्रक्रिया सुरु गर्न मद्दत मिल्ने शोधकर्ता वैज्ञानिकहरूको विश्वास छ । ब्रिटिस एसोसिएसन अफ डर्मेटोलोजिस्ट ९बीएडी० ले मेलनोसाइट्समा अध्ययन गर्दा केही विशेष खालको क्यान्सर र अन्य स्वास्थ्य स्थितिबारे बुझ्न पनि मद्दत मिल्ने दाबी गरेको छ ।

    यसकारण हुन्छ कपाल सेतो 

    उमेर बढेसँगै कपाल झर्न थाल्छ । यो जीवनको सामान्य प्रक्रिया हो । छालामा रहेको रोम छिद्रबाट कपाल निस्कन्छ, त्यहीँनेर कपाललाई कालो राख्ने कोषिकाहरू हुन्छन् ।
    यी कोषिका नियमित रूपमा बन्ने गर्छन् भने नष्ट पनि हुँदै जान्छन् । यिनको निर्माण स्टेम सेलबाट हुन्छ । न्युयोर्क युनिभर्सिटीका वैज्ञानिकको भनाइमा जब स्टेम सेलबाट यी कोषिकाको निर्माण कुनै पनि कारणले रोकिन्छ, तब मानिसको कपाल सेतो हुन थाल्छ ।

    न्युयोर्क युनिभर्सिटीको लेङ्गवन हेल्थ टिमले यी कोषिका बन्ने र बढ्ने प्रक्रियामाथि स्पेसल स्क्यानिङ र ल्याब टेक्निकको मद्दतबाट अध्ययन गरेको छ । उमेर बढेसँगै कपाल झर्न थाल्छ तर लगातार उम्रिरहेको पनि हुन्छ । यद्यपि, पछि मेलनोसाइट्स कोषिकाहरू सुस्त हुन थाल्छन् ।

    स्टेम कोषिका आफ्नो ठाउँमा स्थिर बन्छ र मेलनोसाइट्सको रूपमा विकसित हुन पाउँदैन । यसबाट रङ बनाउने प्रक्रिया अवरुद्ध हुन्छ र कपाल सेतो हुन थाल्छ ।

    न्युयोर्क युनिभर्सिटी लेङ्गवन हेल्थकी पीएचडी स्कलर एवं शोध समूहकी प्रमुख डा. सी सुनले नेचर जर्नललाई भनेकी छन्, ‘मेलनोसाइट्स स्टेम सेलले कपाललाई कालो बनाइराख्नका लागि कसरी काम गर्छ, यो बुझ्न हाम्रो अध्ययनले मद्दत गर्छ । यस अध्ययनबाट के विश्वास पनि जागेको छ भने, मेलनोसाइट्स स्टेम सेललाई फिक्स गर्न सकिन्छ, जसबाट सेतो कपाल फेरि कालो हुन सम्भव छ ।’

    सेतो कपाललाई कालो बनाउन सकिने वैज्ञानिक विश्वास पहिलो अध्ययनचाहिँ होइन । यद्यपि, समयभन्दा अघि नै कपाल फुल्नुको एक कारण कुपोषणलाई पनि मानिन्छ ।

    अर्कातिर केही शोधकर्ताको मान्यता के छ भने तनाव धेरै लिने मान्छेको कपाल पनि सेतो हुन थाल्छ । यस्तो दाबी गर्ने विशेषज्ञका अनुसार, तनावलाई टाढा राखेर पनि कपाललाई फुल्नबाट जोगाउन सकिन्छ ।

    कतिपय शोधकर्ताका अनुसार कपाल आनुवांशिक कारणले फुल्छ । कपालमा कतिपयले रङ लगाउने गरेको पनि देखिन्छ । कोही मानिसचाहिँ समयभन्दा पहिल्यै कपालमा सेतो वा ग्रे कलर लगाउँछन् ।

    ग्ल्यामर म्यागेजिनका अनुसार सिल्भर हेयर अर्थात् चाँदीजस्तै सेतो कपालको चलन युवतीहरूमा निकै चर्चित छ । यसबाहेक उज्ज्वल र मोतीजस्तै रङ आयस्टर ग्रे पनि इन्स्टाग्राममा लोकप्रिय छ ।

    हेयर स्टाइलिस्ट ल्युक हर्सनले हालै ब्रिटिस भोगलाई भनेका छन्, ‘एक समय यस्तो थियो, जब मानिसहरू सेतो कपाल राख्न चाहँदैन थिए । तर, अब हामी सेतो कपाललाई ‘बुढेसकाल’ लागेको भनेर हेर्दैनौँ । लकडाउनपछि मानिसहरूलाई स्वतन्त्रताको आभास भएको छ ।’

    अब हामीले माथि सुरु गरेको चर्चामा फर्किऔँ । सामान्यतः मानिसहरू एकाध कपाल सेतो हुँदा त्यसलाई निकाल्ने प्रयास गर्छन् । विशेषज्ञका अनुसार यसरी तिनै कोषिकाहरूबाट निस्कने अन्य सेतो कपाल उम्रिने सम्भावनालाई रोक्न सकिँदैन । उनका अनुसार रोम छिद्र क्षतिग्रस्त हुँदा नयाँ कपाल आउन बन्द हुन्छ । यस्तोमा कपाल कम हुन थाल्छ वा तालुपन आउन सक्छ ।

    ब्रिटिस एसोसिएसन अफ डर्मेटोलोजिस्ट्सकी डा. लीला असफोरले बीबीसीमा भनेअनुसार, कपाल रङ्गाउने कारोबार निकै ठूलो कारोबार हो । उनले भनिन्, ‘कपालको रङको वैश्विक बजार २०३० सम्म ३३ दशमलव ७ अर्ब डलरसम्म पुग्नेछ ।’

    उनका अनुसार, यो शोधको स्पष्ट संकेत हो, आममानिसको नजरमा यस्तो बुझ्न सकिन्छ कि सेतो कपाललाई फेरि कालो बनाउने दिशामा हामी एक कदम नजिक पुगेका छौँ । उता चिकित्सकीय जगत्को नजरमा अन्य जटिलताहरूलाई राम्रोसँग बुझ्न मद्दत मिल्नेछ । उदाहरणका लागि मेलेनोमा वा गम्भीर छाला क्यान्सर रोगको प्रकृतिलाई बुझ्न पनि मद्दत मिल्नेछ ।

    डा. लीलाका अनुसार यसले एलोपेसिया एरिटा नामक चिकित्सकीय समस्यालाई बुझ्न पनि सहयोग गर्नेछ । यस्तो स्थितिमा शरीरको प्रतिरक्षा प्रणालीले नै कपालमाथि आक्रमण गर्छ । र, यसै कारण कपाल झर्न थाल्छ । कहिलेकाहीँ यी रोगीमा सेतो कपाल फेरि आउन सक्छ । यो शोधले भिटिलिगो अर्थात् छालाको कुनै भागमा सेतो दाग आउने सम्बन्धमा पनि धेरै जानकारी दिने उनको भनाइ छ । छालाको रङ प्राकृतिक राख्नका लागि प्रभावित क्षेत्रमा रोम छिद्र प्रत्यारोपित गर्ने कोसिस गर्न सकिन्छ । यद्यपि, यसलाई लिएर अझै गहिरो अध्ययनको जरुरी छ ।’

    ब्रिटिस हेयर एन्ड नेल सोसाइटीका डा. युसुर अल–नुआमीले भने, ‘टाउकोमा कपालको राम्रो विकासका लागि उमेर बढ्दै गर्दा टाउकाको छालाको स्वास्थ्य महत्त्वपूर्ण हुन्छ । मुसामा हालै गरिएको अध्ययनबाट कपालको रोमबारेमा हाम्रो बुझाइ कपाललाई कालो राख्ने कोषिकालाई लिएर बढेको छ । कपाल झर्ने र अन्य स्थितिका लागि स्टेम सेल उपचारको क्षमताबारे धेरैभन्दा धेरै जानकारी जुटाइरहेका छौँ । यस्तोमा रङ(उत्पादक कोषिकाबारे नयाँ शोध बिरामीका लागि भविष्यमा उपचार विकल्पको कारण बन्न सक्छ । (एजेन्सीको सहयोगमा)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation