
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको पत्र डा. मुकुल ढकाललाई पठाएको छ । पार्टी स्रोतका अनुसार, ढकाललाई यसअघि नै पत्र पठाइए पनि उनले नपाएको गुनासो गरेपछि ‘पुनः’ पठाइएको हो ।
ढकालले बर्खास्त गरिएको जानकारी नपाएको भन्दै मिडियामा बोलेपछि पार्टी कार्यालयका कर्मचारी शुभराज शिल्पकारले उनलाई पत्र पठाएका हुन् । पत्रका साथमा उनले एक सन्देश पनि पठाएका छन्, जसमा लेखिएको छ, ‘पार्टीले तपाईंलाई पदमुक्त गरेको जानकारीको पत्र पुनः पठाइएको छ ।’
यो सन्देशमा प्रयोग गरिएको ‘पुनः’ शब्दप्रति ढकालले आपत्ति जनाए । उनले कर्मचारी भएर राजनीति नगर्न शिल्पकारलाई चेतावनीसमेत दिए । ‘पुनः भनेर झुक्याउन नखोज्नु न, गलत कुरा नगर्नू, कर्मचारी भएपछि राजनीति नगर्नू सर ।’
२५ असारमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय सदस्य पदबाट हटाएको थियो । यो निर्णयलाई अवैधानिक भन्दै मान्यता नदिन उनले निर्वाचन आयोगमा उजुरी पनि दिएका छन् । जेठ–असार समीक्षा यात्राबाट फर्केर बनाएको प्रतिवेदन पार्टीलाई बुझाउनुअघि नै सार्वजनिक भएको विषयमा पार्टी नेतृत्व उनीसँग रुष्ट भएको थियो । मिडियामा थप आक्रामक र असन्तोषपूर्ण अभिव्यक्ति दिँदै हिँडेपछि उनलाई सुरुमा ७ दिनको निलम्बन र त्यसपछि रास्वपाले बर्खास्त गरेको हो ।
पार्टीबाट बर्खास्तीमा परेको झोकमा उनले सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याललगायतलाई गम्भीर आरोप पनि लगाएका छन् ।
२०५० सालमा विराटनगरमा जन्मेका ढकालले राजनीतिमा आउनुअघि केही अस्पतालको व्यवस्थापकीय नेतृत्व सम्हालेका थिए । रास्कोट अस्पतालमा गरेको सहकार्यले उनलाई रविसँग नजिक्याएको थियो । पछि पार्टी नै खोलेपछि रविले उनलाई सिधै महामन्त्रीको जिम्मेवारी सुम्पेका थिए ।