
भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तिमा ५० जनाको मृत्यु भएको छ । मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो क्षति पुर्याएको हो ।
भारतिय संञ्चार माध्यम अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो । मंगलबार बिहान वायनाडको पहाडी क्षेत्रमा गएको पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएको थियो । सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको केरलको स्थानीय समाचारसंस्था मनोरमाले जनाएको छ ।
मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ ।
केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन् । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।