म्युजिक भिडियोमा दर्शकको आपत्तिपछि शान्ति श्री परियारले मागिन् माफी
वि.सं.२०८१ साउन १६ बुधवार १२:१९
shares

गायिका एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य गायिका शान्ति श्री परियारले माफी मागेकी छन् । ११ साउनमा ‘हरि गिरी बिमर्श’ युट्युब च्यानलबाट रिलिज ‘बिस्ताराले पोल्यो’ बोलको गीतको भिडियो विवादित बनेपछि उनले प्रतिष्ठान तथा दर्शकसँग माफी मागेकी हुन् ।
आफ्नो स्वरमा रहेको गीतको भिडियोका केही दृश्यांशप्रति धेरै दर्शकले आपत्ति जनाएपछि उनले आगामी दिनमा शब्द, संगीत छनौट गरी गाउने वाचा पनि गरेकी छन् । आफूसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकप्रति आँच पुग्न गएको उनले बताएकी छन् । ‘आगामी दिनमा शब्द संगीत छनौट गरी गाउने वाचा गर्दछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भनिन् ‘ श्रावण ११ गते प्रसारित “बिस्ताराले पोल्यो” भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडियोको केही दृष्यांशहरुका कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु’, उनले अगाडि भनेकी छन्, ‘आगामी दिनमा शब्द सङ्गीत छनौट गरी गाउने वाचा गर्दछु ।’








