
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हनियाको हत्या गरेकोमा इजरायलमाथि सिधा आक्रमण गर्न सुरक्षा बललाई आदेश दिएका छन् ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, खामेनेईसहित अन्य शीर्ष इरानी अधिकारीले तेहरानमा हनिया हत्याको जवाफ दिने कसम खाएका छन् ।
इरानका दुई सैन्य अधिकारीसहित यो विषयमा जानकारी दिने अन्य तीन अज्ञात इरानी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘हनिया हत्यालगत्तै बोलाइएको राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठकमा खामेनेईले इजरायलमाथि आक्रमण गर्न निर्देशन दिएका हुन् ।’
‘हामीले आक्रमण गरेको स्थितिमा युद्ध फैलिन्छ । इजरायल वा अमेरिकाले इरानमा आक्रमण गर्छ । त्यसैले आक्रमण र रक्षा योजना पनि तयार गर्नू’, बैठकमा उनले भनेका थिए ।
इजरायलले अहिलेसम्म हनिया हत्याको विषयमा कुनै टिप्पणी गरेको छैन ।
टाइम्स अफ इजरायलका अनुसार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै चेतावनी दिएका थिए, ‘हाम्रा चुनौतीपूर्ण दिन आउँदै छ तर कसम खाएको देश हरेक परिदृश्यका लागि तयार छ । हामीविरुद्ध कुनै पनि आक्रामकताले भारी मूल्य चुकाउने छ ।’
उनले हनियाको विषयमा भने केही उल्लेख नगरेको इजरायली मिडियाले लेखेका छन् ।
इजरायलको दाबीः हमासका सैन्य कमाण्डर दिफ पनि मारिए
हमासको सैन्य शाखा प्रमुख मुहम्मद दिफ पनि मारिएका छन् । जेरुसलेम पोस्टका अनुसार, उनी दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा गत महिना मारिएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ ।
बिहीबार बिहान दिफको मृत्यु पुष्टि हुने गोप्य जानकारी पाएको आईडीएफको भनाइ छ ।
५८ वर्षीय दिफले दुयृ दशकभन्दा बढी समय इज्ज–अद–दनि अल–कसम ब्रिगेडको नेतृत्व गरेका थिए । लामो समयदेखि उनी इजरायलको तारो बनेका कमाण्डरमध्ये एक थिए ।