पेरिस ओलम्पिक २०२४ मा शक्तिराष्ट्र चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा देखिएको छ । नतिजा आउने क्रम जारी रहँदा ९ स्वर्णसहित ३७ पदक जितेर अमेरिका दोस्रो स्थानमा उक्लिएको छ । यसअघि अमेरिका छैठौं, सातौं स्थानमा थियो । ११ स्वर्णसहित ७ रजत र ६ कास्य गरी कुल २४ पदक जितेको चीन पहिलो स्थानमै छ ।
चीनभन्दा २ मात्र स्वर्णले अमेरिका पछाडि छ, उसले रजत र कास्यमा भने दोब्बरले अग्रता लिएको छ । अमेरिकाले अहिलेसम्म ९ स्वर्ण, १५ रजत र १३ कास्य गरी कुल ३७ पदक जितिसकेको छ ।
अमेरिकासँग पछि पर्दै फ्रान्स तेस्रो स्थानमा झरेको छ, जसले ८ स्वर्णसहित ११ रजत, ८ कास्य गरी कुल २७ पदक जितेको छ । यसैगरी, ८ स्वर्ण, ६ रजत र ४ कास्य गरी कुल १८ पदकसहित अस्ट्रेलिया चौथो स्थानमा छ ।
सुरुवाती नतिजामा शीर्ष स्थानमा रहेको जापान अहिले पाँचौँ स्थानमा झरेको छ, उसले कुल १६ पदक जितेको छ, जसमा ८ स्वर्ण, ३ रजत र ५ कास्य छन् ।
६ स्वर्ण, ७ रजत, ७ कास्य जितेको बेलायत छैठौं, ६ स्वर्ण, ३ रजत र ३ कास्य जितेर दक्षिण कोरिया सातौँ, ५ स्वर्ण, ७ रजत र ४ कास्य जितेर इटाली आठौं स्थानमा छ ।