बंगलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसको आज सपथग्रहण हुने भएको छ । बंगलादेशी अखबार डेली स्टारका अनुसार आज स्थानीय समय अनुसार राति ८ बजे सपथग्रहण हुने भएको छ ।
उनको सपथग्रहण समारोहमा करीब ४०० जना सहभागी हुने बताइएको छ । सेनापति वाकर उज जमानले यस्तो सूचना बुधबार साँझ दिएका हुन् । सेनापति जमानले अन्तरिम सरकार १५ सदस्य हुने बताएका छन् । तर, कोको हुने र कति कार्यकालको हुने भन्नेमा भने उनले कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।
देशभर तीनचार दिनमा सामान्य स्थिति आउने भन्दै सेनापति जमानले आफूले अन्तरिम सरकारका प्रमुख युनुससँग कुरा गरेको र उनलाई सबै दलहरु तथा विद्यार्थीहरुको साथ हुने आशा भएको बताए । उनले बंगलादेशको सैनिक मुख्यालयमा पत्रकारसँग बोल्दै जमानले भनेका छन्, ‘मलाई उनीसँग कुरा गर्दा धेरै खुशी लाग्यो । मलाई लाग्यो उनी नयाँ जिम्मेवारी लिन धेरै इच्छुक छन् । मलाई आशा छ उहाँले हाम्रो प्रजातान्त्रिक प्रकृयामा नेतृत्व गर्न सफलता दिलाउनु हुनेछ ।’