धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई खानेपानी महसुल वृद्धिको निर्णयविरुद्ध आन्दोलनरत १० दलसँग वार्ता गर्न तयार भएका छन् । वार्ताका लागि उनले आगामी आइतबार बोलाएका छन् । यद्यपि, प्रदर्शनकारीले मेयर हर्कराजको विश्वास गर्न नसकिने भन्दै आजै वार्ता गर्नुपर्ने, आजै खानेपानी महसुलको मूल्यवृद्धि फिर्ताको निर्णय हुनुपर्ने अडान लिएका छन् ।
बिहीबार सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीलाई उपमहानगरपालिकाको बन्द गेटभित्रैबाट मेयरले वार्तामा बोलाएका हुन् । यसअघि प्रदर्शनकारी गेट तोडेर भित्र छिर्न खोजेका थिए । सुरक्षाकर्मीले भिडलाई सम्बोधन गर्न सुझाएपछि मेयर हर्क नगर प्रहरीको सुरक्षा घेरामा कार्यकक्षबाट निस्केका थिए ।
उनलाई देखेपछि प्रदर्शनकारीले थप आक्रोशित हुँदै नाराबाजी गरे । खानेपानी बोर्डले खानेपानीको महसुल बृद्धि गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत १० दल आन्दोलित छन् ।
उनले भने, ‘मूल्य बढाउनु हुन्थ्यो कि हुँदैन थियो । यो हाम्रो रहर थियो कि बाध्यता थियो । यी विषयमा छलफल गरौँ । यसका लागि आउँदा आइतबार बिहान ११ बजे १० दलबाट एक÷एक जना प्रतिनिधि वार्ता बस्ने गरी नगरपालिकामा आइदिनुहोला ।’ प्रदर्शनका क्रममा केही विद्यार्थी घाइते पनि भएका छन् ।