चेक बाउन्सको मुद्दा दर्ता गर्दा आयस्रोत खुलाउनुपर्ने सुमना श्रेष्ठकाे प्रस्ताव

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेकी छन् । ‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था थप गर्नुपर्ने उनको प्रस्ताव छ । चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा ‘कारोबार स्थापित गर्ने कागज, आम्दानीको स्रोत खुलाउने कागज र अन्य आवश्यक कागज’ पेश गर्नुपर्ने प्रस्ताव गरेकी हुन् ।

    प्रस्तावित विधेयकको दफा ८ मा चेक अनादरको कसुरमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ । चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ । यो प्रस्तावित व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद श्रेष्ठले चेक अनादरको जाहेरी दिने समयाअवधि पनि ३ महिना नभएर एक वर्ष राख्नुपर्ने बताएकी छन् । ‘चेक अनादर गरेको प्रमाणित भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ र त्यसहरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ’, सांसद श्रेष्ठको प्रस्ताव छ ।

    रास्वपाकै सांसद सोविता गौतम, नेकपा एमालेका सांसदहरु पदम गिरी, दामोदर पौडेल बैरागी, विद्या भट्टराई, इश्वरी घर्ती, दिपा शर्मा, सरिता भुला र सरस्वती सुब्बाले पनि पनि चेक अनादरको जाहेरी दिने समयाअवधि तीन महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation