कोटीहोम समापन गरेर पार्किङमा आएका विजय कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी कुरेर बसेका थिए । विजयले प्रहरीको आग्रह अस्वीकार गरे ।
उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले । फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् ।’
प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा दुई पक्षको बिचमा झडप भयो । झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । राति काठमाडौँका एसएसपी बसन्त रजौरे गौशालामा गएर कृष्णमूर्तिसँग कुरा गर्न खोजे । तर, कृष्णमूर्तिले रजौरेसँग पनि भेट्न मानेनन् । प्रहरी वृत्त गौशालामा रजौरेले उनका सहयोगीलाई बोलाएर कुरा गरेर फर्किए ।
कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को बारेमा सोधपुछ गर्न खोजिएको प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र अदालतबाट फैसला भए अनुसार ठगी मुद्दामा १ वर्ष २ महिना थुनामा बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको प्रहरीको ‘अपराध रेकर्ड’मा देखिन्छ ।
तर, अपराध रेकर्डमा भएको कुरा अहिले उनले लिएको प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख छैन । प्रहरी चारित्रिक प्रमाणपत्रमा कुनै मुद्दा नलागेको भन्ने विवरण ‘लेखाएर’ लिएको आरोप छ ।
प्रहरी रिपोर्ट ‘कहाँबाट लिनुभयो ?’ भनेर उनीसँग सोधपुछ गर्न मात्रै खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘उहाँलाई पक्राउ गर्न खोजेका होइनौँ, सामान्य विषयमा बुझ्न मात्रै त्यहाँ प्रहरी पठाएका थियौँ ।’
धेरै पटक पक्राउ परेको र कैदमा बसेको भए पनि पुलिस रिपोर्ट कसरी ‘क्लियर’ आयो भन्नेबारेमा प्रश्न उठेको छ । ‘मिलेमतो’मा प्रहरी रिपोर्ट लिएका आशङ्कामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।