गुडिरहेको बसमाथि खस्यो पहिरो

  • गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो।
    रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसमा लेदो पसेर क्षति पुर्‍याएको जानकारी दिए।
    लेदो सहितको पहिरो पसेपछि बसभित्र रहेका सबै यात्रु सकुशल बाहिर निस्किएका थिए।
    प्रहरीका अनुसार बस भने आंशिक रूपमा पुरिएको छ। मदन भण्डारी राजमार्गको रिडीदेखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ भने रातामाटामा बस आइपुग्नासाथ माथिबाट लेदो सहितको पहिरो झरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।
    बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको उक्त बसलाई पहिरोबाट निकाल्ने प्रयास भइरहेको छ।
    वर्षाको समयमा विस्तार भइरहेको उक्त सडक हिलाम्मे बन्दा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको र पहिरो हटाएर बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation