नेता खनालले भने- ‘घमण्डी, भ्रष्ट र अवसरवादी दुईवटा पार्टीको सरकार’ बनेको छ’ 

  • प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन् ।
    आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । काँग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरे ।
    सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे । कमसेकम नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाई थियो । सम्मानित नेता खनालले काँग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए ।
    दुई ठूलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुल स्ष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताए । उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
    नेता खनालले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरु हुन । भ्रष्ट पार्टीहरु हुन् । र अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाँही असम्भव छ । यो उनीहरुको ख्याली पुलाउ बाहेक अरु केही होइन र हुनेवाला पनि छैन । अब यो देशमा मल्टिपार्टी सिष्टम स्थापना भएको छ । यो पूँजीवादी मल्टिपाटी सिष्टम हो ।’
    सम्मानित नेता खनालले काँग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरेको पनि बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation